बढैयाताल/ गाउँपालिकाको आयोजनामा सन्देशमूलक तिज गीत प्रतियोगिता आज मैनापोखरमा सम्पन्न भएको छ। “धर्म, संस्कृति र परम्पराको संरक्षण” साथै सामाजिक समस्याबारे सचेतना फैलाउने उद्देश्यले गरिएको कार्यक्रममा गाउँपालिकाभित्रका ६ वटा महिला समूहहरूले गीत र नृत्यमार्फत आफ्ना प्रस्तुति दिएका थिए।
कार्यक्रममा महिला हिंसा, बालविवाह, लागुऔषध सेवन र ओसार–पसार, सामाजिक सञ्जालको दुरुपयोग जस्ता विषयमा सन्देश दिने गीत तथा नृत्य प्रस्तुत गरिएका थिए। साथै सचेतनामूलक एकल गीत र नृत्य प्रस्तुतिहरू समेत समावेश गरिएका थिए।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिमा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्था, सहकारीका प्रतिनिधिहरू र स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता थियो।
प्रतियोगितामा समूहतर्फ मेलमिलाप महिला समूह ९वडा नं ३ पहिलो, पतञ्जली योग समूह ९वडा नं ६ मैनापोखर दोस्रो, जमुनी समूह ९वडा नं २ तेस्रो, उपकार आमा समूह ९वडा नं ३ चौथो र दिदीबहिनी समूह ९वडा नं ६ पाँचौं स्थानमा रहे।
त्यस्तै, एकल तर्फ कुश्मी थापा प्रथम, स्वस्तिका खड्का दोस्रो र राफिका थारु तेस्रो भएका थिए। विजयी समूह र उत्कृष्ट एकल नृत्यरगीत प्रस्तुत गर्ने प्रतिभाहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।























