विज्ञापन

२९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क सहायक सामग्री वितरण

Image

बढैयाताल/ बर्दिया जिल्लाभरिका २९ जना अपाङ्गता भएका महिला र पुरुषहरूलाई आज श्रावण १७ गते शनिवार, निशुल्क रूपमा विभिन्न सहायक सामग्री वितरण गरिएको छ। दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यसहित आयोजित यो कार्यक्रम डेक नेपाल (अपाङ्ग सशक्तीकरण तथा सञ्चार केन्द्र) को आयोजनामा र बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको समन्वयमा सम्पन्न भएको हो।

सामग्री वितरण कार्यक्रम बढैयाताल गाउँपालिका वडा नं। ८ स्थित पशुपतिवजारको कार्यालय परिसरमा सम्पन्न गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। उहाँले सहायक सामग्री वितरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउने प्रयासमा सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै, यस्ता सहयोगात्मक कार्यक्रमहरू आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाइने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सामाजिक डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा उपलब्ध भएका सहायक सामग्रीहरू वितरण गरिएको हो। बर्दिया जिल्लाका गेरुवा, राजापुर, मधुवन, गुलरिया र बढैयाताल क्षेत्रका १६ जना शारीरिक अपाङ्गता भएका र १३ जना दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री हस्तान्तरण गरिएको हो।
सो अवसरमा लैपटप – ३ जना,  ह्वीलचेयर – ४ जना, ट्राइसाइकल – ५ जना, सेतो छडी – १० जना, वाकर – ४ जना, बैसाखी – २ जना, ट्वाइलेट चेयर – १ जना वितरण गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धव श्रेष्ठले सहायक सामग्री अपाङ्गता भएका व्यक्तिहरूको लागि अत्यावश्यक भएको उल्लेख गर्दै सामग्रीलाई दीर्घकालसम्म प्रयोग गर्न जतनपूर्वक राख्न आग्रह गर्नुभयो।कार्यक्रममा डेक नेपालका प्रतिनिधि टेक राज जैसीले कार्यक्रमबारे प्रकाश पार्नुका साथै आगामी दिनमा पनि अपाङ्ग व्यक्तिहरूको सशक्तीकरणमा डेक नेपालको सक्रियता जारी रहने बताउनुभयो।

कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं ९ का अध्यक्ष वीर बहादुर थारू, वडा नं ७ का अध्यक्ष राधेश्याम थारू, वडा नं ८ का वडा सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

जनगणना २०७८ का अनुसार बर्दिया जिल्लामा हाल १४ हजार ८१७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्, जसमा ६० प्रतिशत शारीरिक अपाङ्गता भएका छन्। सहायक सामग्रीको अभावले उनीहरू कठोर परिस्थितिमा जीवन बिताउन बाध्य छन्। यस प्रकारको कार्यक्रमले उनीहरूको जीवनमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन