बढैयाताल/ बढैयाताल गाउँपालिका वडा नं ६ कार्यालयले आज मैनापोखर बजार क्षेत्रलाई सफा, सुग्घर र व्यवस्थित बनाउने उद्देश्यसहित ५० थान डस्टबिन वितरण गरेको छ। वडा कार्यालयको आव २०८१/८२ को बजेटबाट खरिद गरिएका यी डस्टबिनहरू एक विशेष कार्यक्रमका बीच बजार क्षेत्रका विभिन्न स्थानहरूमा राखिएको हो।
चार लेनको सडक विस्तारसँगै मैनापोखर बजारले व्यावसायिक र भौतिक विकासको गति लिँदै आएको छ। बजारको सरसफाइ र सौन्दर्यलाई थप मजबुत बनाउँदै ‘स्वच्छ मैनापोखर, सभ्य समाज’ भन्ने लक्ष्यसहित यो पहल गरिएको वडा अध्यक्ष शुक्रराज सापकोटाले जानकारी दिए। “फोहर यत्रतत्र नफाली, डस्टबिनमै फाल्ने बानी बसालौं भन्ने उद्देश्यले यो कार्यान्वयन गरिएको हो,” अध्यक्ष सापकोटाले भने।
कार्यक्रममा उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले सरसफाइ सभ्य समाज निर्माणको पहिलो पाइला भएको बताउँदै, “हामी सबैले फोहर निश्चित स्थानमा मात्र फाल्ने बानी बसाल्नुपर्छ,” भन्नेमा जोड दिए। कार्यक्रममा प्रहरी निरीक्षक राजेश साहु, मैनापोखर क्याम्पस अध्यक्ष प्रेमराज त्रिपाठी, मैनापोखर बजार समितिका अध्यक्ष टिकाराम कोइराला, जनप्रतिनिधि, स्थानीय व्यापारी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात बजार सरसफाइ अभियान सञ्चालन गर्दै डस्टबिनहरू बजारका विभिन्न स्थानहरूमा राखिएको छ। स्थानीय तह, व्यवसायी, र नागरिकबीचको सहकार्यबाट अघि बढाइएको यो प्रयासले मैनापोखर बजारलाई नमुना सफा बजारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।























