बर्दिया, राजापुर — राजापुर नगरपालिका र सीएमसी नेपाल को साझेदारीमा सञ्चालित द्धन्दप्रभावितहरुको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक सोमबार सम्पन्न भएको छ। बैठक राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा नगर कार्यपालिकाको सभाहलमा सम्पन्न भयो।
बैठकमा परियोजनाले हालसम्म संचालन गरेका प्रमुख गतिविधिहरू, प्राप्त उपलब्धिहरू र आगामी रणनीति सम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो। मनोसामाजिक परामर्श कार्यक्रमले द्धन्दको प्रत्यक्ष असर भोगेका नागरिकहरूलाई लक्षित गर्दै उनीहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
बैठकमा बोल्दै राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले वर्तमान परिवेशमा मानसिक स्वास्थ्यको आवश्यकता झनै बढ्दो क्रममा रहेको र यस्तो कार्यक्रमले समुदायमा नयाँ आशा र भरोसा सिर्जना गरिरहेको बताए।मानसिक स्वास्थ्य अब सघन रुपमा लिनुपर्ने विषय हो। यस्तो अभियानले दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ, उनले जोड दिए।
द्धन्दप्रभावित अभियन्ता भागीराम चौधरीले संक्रमणकालीन न्याय र सत्य तथा मेलमिलाप प्रक्रियाको सन्दर्भ जोड्दै सत्यको खोजीका क्रममा मानसिक स्वास्थ्य सेवा अपरिहार्य रहेको उल्लेख गरे। ूघटनाको तथ्य खोतल्दा पीडितलाई विगत स्मरण गराउँदा थप मानसिक तनाव हुनसक्छ, उनले भने, त्यसैले मनोसामाजिक परामर्श सेवा अझै सुदृढ र पहुँच योग्य बनाउनुपर्छ।
त्यसैगरी, सीएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले द्धन्दको असर पुस्तान्तरण हुँदै गइरहेको र किशोर–किशोरीमा पनि यसको मनोवैज्ञानिक प्रभाव देखिन थालेको भन्दै मानसिक स्वास्थ्यमा थप लगानीको आवश्यकता औंल्याए। अबको प्राथमिकता विद्यालय र युवा लक्षित कार्यक्रम हुनुपर्छ, उनले भने, त्यसैले समुदायमै आधारित दीर्घकालीन योजना आवश्यक छ।
कार्यक्रममा नगरप्रमुख दिपेश थारुले परियोजनाको प्रभावकारिता र समाजमा परेको सकारात्मक प्रभावप्रति सन्तोष व्यक्त गर्दै राजापुर नगरपालिकाले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक सशक्तिकरणलाई अभियानकै रुपमा अगाडि बढाउने बताएका थिए। उनले भने, हामीले सामाजिक सेवा र मानवीय विकासमा प्राथमिकता दिएका छौं। मनोसामाजिक सुस्वास्थ्यतर्फ नगरको लगानीको प्रतिफल अहिले देखिन थालिसकेको छ।
कार्यक्रममा द्धन्दप्रभावित सञ्जाल राजापुरका अध्यक्ष लोतन चौधरी, द्धन्दप्रभावित समूहकी प्रतिनिधि रविना चौधरी, नगर अस्पतालका प्रमुख डा। गंगेश्वर ठाकुर, मनोविद् गोपाल बोहोरा लगायतले पनि सहभागी भएर कार्यक्रमको स्थायित्व, पहुँच विस्तार र प्रभावकारिताको विषयमा सुझाव र धारणा व्यक्त गरे।
उक्त कार्यक्रममा परियोजनाको गतिविधि, प्रगति र रणनीति सम्बन्धी प्रस्तुतीकरण सुजन थारुले गरेका थिए भने कार्यक्रम सञ्चालन वरिष्ठ अनमी देवी खनालले गरेकी थिइन्।
निष्कर्ष
उक्त सल्लाहकार समिति बैठकले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शलाई अझ सशक्त बनाउँदै अगाडि बढाउने खाका प्रस्तुत गर्यो। यस्तो खालको कार्यक्रमले द्धन्दको गहिरो छायाबाट प्रभावित समुदायमा आशा, समावेशीकरण र दीर्घकालीन सशक्तिकरणको मार्ग खोल्ने विश्वास गरिएको छ।























