गुलरिया/ बर्दियामा बाघको आक्रमणबाट ७ वर्षीय बालक गम्भीर घाईते भएका छ्न ।
जिल्लाको गुलरिया नगरपालिका वार्ड नम्बर ५ बालापुर स्थित शान्ति टोलमा बस्ने सिर्जन चौधरी बाघको आक्रमणमा परी घाइते भएका छन्।
गुलरिया नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष सुरेश गौतमले करिब डेढ बजे को समयमा बालक सिर्जनलाई बाघले आक्रमण गरेको बताउनु हुँदै, बालकलाई बाघले लतारेर लगभग १५ /२० मिटर टाढा लग्दै गर्दा हजुरआमाले बाघको मुखबाट बालकलाई छुट्याउन सफल भएको बताउनुभयो ।
साथै वडाध्यक्ष गौतमले सोही ठाउँमा बाघ पुन देखिएकोले आफूले सम्बन्धित निकायमा खबर गरी सकेको भएतापनि डिभिजन वन कार्यालय बर्दियाको डिभिजन वन अधिकृत (डेफु)ले फोन नउठाउदा आफूहरू अन्योलमा रहेको जानकारी गराउनुभयो।
स्थानीय कृषक भरतुराम थारुले मकैबारीमा पानी हाल्दै गर्दा बाघ आएको र छोराले “बुबा बाघ आयो ,बाघ आयो ,भाग” भनेपछि आफूहरू भागेको बताउनुभयो ।
गुलरिया नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष मोहबहादुर मल्लले बगरतालको दक्षिणतर्फ जङ्गलको छेउमा मकैबारीमा पानी सिँचाइ गर्न गएको समयमा हजुरआमाले नाती सिर्जनालाई शीतलताका निम्ति केराबारी र मकैबारीको बीचमा खटिया लगाएर राखेको अवस्थामा बाघले आक्रमण गरी घाइते बनाएको बताउनु भयो ।
उहाँले घाइते बालकलाई बर्दिया जिल्ला अस्पतालदेखि रिफर गरेर नेपालगञ्ज लगिसकेको जानकारी गराउँदै यस घटनालाई लिएर त्यस क्षेत्रमा कुनै पनि नराम्रो गतिविधि नगर्न अनुरोध गर्दै यो समस्याको कानुनी पाटो वाट समाधान हुने बताउनु भयो ।























