विज्ञापन

राजापुरका १० वटै वडामा अपाङ्गता सञ्जाल गठन

Image

राजापुर, बर्दिया । राजापुर नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र जीविकोपार्जनका सवाललाई स्थानीय तहसम्म प्रभावकारी रूपमा उठाउन नगरपालिकाका १० वटै वडामा अपाङ्गता सञ्जाल गठन गरिएको छ।

राजापुर नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको अपाङ्गता उत्थान केन्द्र, राजापुर बर्दियाले आफ्नो क्षमता विकास गर्दै नगरपालिकाका सबै वडामा वडा स्तरीय अपाङ्गता सञ्जाल स्थापना गरेको हो। नगरपालिका, महिला तथा बालबालिका शाखा तथा गुलरिया–बर्दियास्थित थारु महिला उत्थान केन्द्रमार्फत सञ्चालित समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाको सहकार्यमा सञ्जाल गठन गरिएको केन्द्रका अध्यक्ष महादेव धमलाले जानकारी दिनुभयो।

अपाङ्गता भएका व्यक्तिहरूका कानुनी हक तथा अधिकार स्थापित गर्न, आवश्यकता अनुसार जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्‍याउन, राज्यबाट प्राप्त हुने अधिकार तथा सेवा–सुविधाका लागि सम्बन्धित निकायमा पैरवी गर्न र अति आवश्यक अवस्थामा रहेका व्यक्तिहरूलाई सहयोग उपलब्ध गराउन सञ्जाल गठन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार संस्था वि.सं २०८० सालमा थारु महिला उत्थान केन्द्रको समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाअन्तर्गत गठन भई स्थानीय तहमा सूचीकृत भएको थियो। हाल संस्थाले विभिन्न संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि जीविकोपार्जन सहयोग, क्षमता विकास तालिम, आधारभूत नेपाली सांकेतिक भाषा तालिम, कानुनी प्रावधान तथा संस्थासम्बन्धी समन्वय तालिमलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अपाङ्गता उत्थान केन्द्रबाट सुरुमा २७ जना अपाङ्गता भएका सदस्यहरूलाई समेटेर काम सुरु गरिएकोमा अहिले राजापुर नगरपालिकाका १० वटै वडामा सञ्जाल विस्तार भएको छ। हाल वडा स्तरीय सञ्जालमा २८३ जना अपाङ्गता भएका व्यक्तिहरू आबद्ध रहेको केन्द्रले जनाएको छ।

आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विस्तार गर्ने, परिचयपत्रको पहुँचमा नपुगेकाहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको सर्वेक्षण गरी प्रोफाइल तयार गर्ने तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष धमलाले बताउनुभयो। साथै विभिन्न दातृ निकायसँग समन्वय गरी थप कार्यक्रमका लागि प्रस्ताव पेश गर्दै परियोजना कार्यान्वयन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

विज्ञापन
विज्ञापन
विज्ञापन