विज्ञापन

अपाङ्गता भएका १६ जना बालबालिकालाई शैक्षिक तथा सरसफाइ सामग्री वितरण

Image

बढैयाताल, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं ३ सिमरास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका १६ जना बालबालिकालाई शैक्षिक तथा सरसफाइ सामग्री वितरण गरिएको छ। अषाढ ४ गते आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्ज बाँकेको आर्थिक सहयोग, बढैयाताल गाउँपालिकाको समन्वय तथा बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रको आयोजनामा बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले जानकारी दिए।

भवानी माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले बालबालिकाको बौद्धिक, शैक्षिक तथा व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरुल हसन जागाले अपाङ्गता भएका बालबालिकाको क्षमता अभिवृद्धि तथा शैक्षिक प्रगतिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

त्यस्तै, वडा नं। ३ का अध्यक्ष लल्लन अहिरले अपाङ्गता भएका बालबालिकाको हितका लागि सहयोग गर्ने निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरे। उनले बालबालिकाको शैक्षिक विकासका लागि वडा कार्यालयबाट समेत आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।

बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं। ३ का अध्यक्ष लल्लन अहिर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरुल हसन जागा, विद्यालयका प्रधानाध्यापक धर्म प्रसाद शर्मा, शिक्षक प्रतिनिधि मनोज तमौली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, जनप्रतिनिधि, बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रका महासचिव दल बहादुर सुनार, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन