राजापुर, बर्दिया । सरस्वती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा लागुऔषध दुर्व्यसन तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
राजापुर नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरी ले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विशेष गरी किशोर–किशोरीलाई लक्षित गर्दै लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरका विषयमा जानकारी गराइएको थियो।
सहजीकरणका क्रममा प्रहरी नायब उपरीक्षक चौधरीले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्दै युवापुस्तालाई यस्ता कुलतबाट टाढा रहन आग्रह गर्नुभयो। उहाँले लागुऔषध नियन्त्रणका लागि समुदाय, अभिभावक, विद्यालय र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी किशोर–किशोरीलाई लागुऔषध दुर्व्यसनबाट बच्ने उपाय, कानुनी व्यवस्था तथा सचेत नागरिकको भूमिकाबारे समेत जानकारी दिइएको थियो। कार्यक्रममा स्थानीय युवायुवती, समुदायका सदस्य तथा सरोकारवालाको सहभागिता रहेको थियो।
करीब ७० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमले लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा युवा वर्गमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।























