टीकापुर \ कैलाली – कैलालीको टीकापुरमा जुत्ताको सोलमा लुकाईछिपाई ल्याइँदै गरेको लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।
आइतबार साँझ भारतको तिकुनियाबाट टीकापुरतर्फ आउँदै गरेका दुई जनालाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरी चौकी सत्तीको बिट क्षेत्रमा गरिएको चेकजाँचका क्रममा दाहिने खुट्टामा लगाएको जुत्ताको सोलभित्र लुकाएर ल्याइएको अवस्थामा लागुऔषध फेला परेको थियो।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३० वर्षीय सागर रावल र १७ वर्षीय जीवन कुँवर रहेका छन्। उनीहरूको साथबाट अन्दाजी २ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज सुशील चन्द ठकुरीले जानकारी दिए।
प्रहरीका अनुसार दुवै जना भारतको तिकुनियाबाट सु.प.प्र. ०१–००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गर्दा ट्राफिक चेकिङका क्रममा पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको डीएसपी डाँगीले बताएका छन्।























