बढैयाताल गाउँपालिकाको सदरमुकाम मैनापोखरमा रहेको मैनापोखर बजार व्यवस्थापन समितिको चौथो अधिवेशन मंसिर २७ गते सम्पन्न भएको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथिका रूपमा बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र रावल, मैनापोखर शारदा बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठी, नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछाने, मैनापोखर भविष्य साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु प्रसाद लम्साल तथा उद्योग वाणिज्य संघका सचिव विकास कोईरालाको उपस्थिति रहेको थियो । साथै निर्वाचित जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा बजार व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष युवराज पौडेलले प्रस्तुत गरेका थिए । साथै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरिएको थियो । सो अवसरमा मैनापोखर बजार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यापारी तथा व्यक्तित्वहरूलाई दोसल्ला ओढाइ कदरपत्रसहित सम्मान गरिएको थियो ।
अधिवेशनसँगै सम्पन्न बन्द सत्रले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा हरिकृष्ण सापकोटा, प्रथम उपाध्यक्षमा कृपानन्द झा, द्वितीय उपाध्यक्षमा नारायणी बराल, सचिवमा जीवनाथ बराल, कोषाध्यक्षमा अर्जुन चौधरी र सह–सचिवमा मोहनबहादुर सुनार चयन भएका छन् । सदस्यहरूमा सुभद्रा श्रेष्ठ, रामेश्वर पौडेल, रेवती पौडेल, विमला खड्का र कृष्णलाल के.सी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै मैनापोखर क्षेत्रका व्यापारीहरूको हक–हित संरक्षण, बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउन व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रम बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिकाराम कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन निवर्तमान सदस्य धनबहादुर थापाले गरेका थिए ।























