विज्ञापन

बसको ठक्करबाट साइकिल यात्री घाइते, फोरलेन हुलाकी सडकमा बढ्दै दुर्घटनाको जोखिम

Image

बढैयाताल / बर्दियाको बढैयातालमा एक साइकिल यात्री बसको ठक्करबाट घाइते भएका छन्। काठमाडौँबाट राजापुरतर्फ जाँदै गरेको लु.प्र.०३–००२५ नम्बरको रात्री बसले आज बिहान १० बजे बढैयाताल गाउँपालिका–७ स्थित पचासा चोक नजिक साइकिलमा सवार स्थानीय धनबहादुर थारू  लाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार टाउकोमा चोट लागेका थारूलाई तत्काल उद्धार गरी नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि पठाइएको छ। घाइतेको अवस्था अहिले सामान्य रहेको जनाइएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गतको हुलाकी फोरलेन सडक निर्माणपछि यस क्षेत्रका सवारीसाधनहरू तीव्र गतिमा गुड्ने गरेको र साइकिल तथा पैदल यात्रीहरूले पर्याप्त सावधानी नअपनाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन्।

हालै सम्पन्न फोरलेन हुलाकी सडकमा निर्माण कम्पनीले जेब्राक्रसिङ र पैदल यात्रु लेन निर्माण गरे पनि प्रयोगको कमीका कारण दुर्घटनाहरू दोहोरिइरहेका छन्। पैदल यात्री र साइकिल प्रयोगकर्ताहरूलाई लेन प्रयोग गर्न नचाहनु र लापरवाहीपूर्वक सडक पार गर्नु दुर्घटनाको प्रमुख कारण बन्न थालेको देखिन्छ।

दुर्घटना न्यूनीकरणका लागि संबन्धित निकायहरूद्वारा सडक प्रयोगबारे सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानिय तह, ट्राफिक प्रहरी, र सडक विभागले समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन नगर्दासम्म दुर्घटना दर घट्ने संकेत देखिएको छैन।

पछिल्ला केही महिनामा हुलाकी सडकखण्डमा दुर्घटनाका दर बढ्दै गएको आँकडा बताउँछ कि स्थानीय समुदाय र सरकारी संयन्त्रले तत्काल कदम चाल्नुपर्ने अवस्था आएको छ। सरोकारवालाहरूले सडकमा सिसिटिभी, स्पिड लिमिट संकेत, तथा नियमित ट्राफिक निगरानी गर्न सुझाव दिएका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन