
मैनापोखर / बढैयाताल गाउँपालिकाले असोज ८ गते देखि द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको छ ।
महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको हो । दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति ब्यवस्था भए अनुसार दुबै समिति गठन भई सकेको छ ।
राष्ट्रिय कार्ययोजनामा दिएको जिम्मेवारी अनुसार बढैयाताल गाउँपालिकाले आवश्यकता पहिचान गर्न शुरु गर्नु अगाडी, पहिचान गर्ने क्रममा र पछिको गोपनियता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसहिता र आवश्यकता पहिचान गर्न फाराम बनाएर कार्ययोजना स्थानीय समितिको असोज ७ गते बसेको बैठकले पास गरेको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका पदाधिकारीलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गराउनु भएको छ । अध्यक्ष त्रिपाठीले गोपनियता र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि पाएको जिम्मेवारी इमान्दारीपुर्वक पुरा गर्न निर्देशन दिनुभयो । साथै कार्ययोजना कार्यान्वयन स्थानीय समितिले आवश्यक स्रोत ब्यवस्थापन गर्न कार्यपालिकामा प्रस्ताव लगि आवश्यक नितिगत निर्णय गर्ने प्रतिबद्धता पनि गर्नुभयो ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष तथा द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक लक्ष्मी कुमारी अधिकारीले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्ययोजना कार्यान्वयन समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो । पहिचान गरिएका आवश्यकतालाई प्राथमिकिकरण गरी बढैयाताल गाउँपालिका आफै, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने गर्ने बताउनुभयो । उप प्रमुखको संयोजकत्वमा पाँच सदस्य उपसमितिले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न शुरु गरेको हो ।
द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न द्वन्द्व पीडित समिति बर्दियाले सहजिकरण साथै प्राविधिक सहयोग गरिरहेको छ ।























