बढैयाताल | बढैयाताल गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ३१ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखिएको छ।
आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ३९ लाख, समपूरक अनुदान १ करोड ४६ लाख, सशर्त पुँजीगत अनुदान २ करोड ७२ लाख तथा चालु सशर्त अनुदान ३१ करोड ९४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै संघीय राजस्व बाँडफाँडबाट १२ करोड २९ लाख, विशेष अनुदानबाट २६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
लुम्बिनी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९९ लाख ४३ हजार, चालु सशर्त अनुदान १५ लाख, पुँजीगत सशर्त अनुदान ७५ लाख, समपूरक अनुदान ७५ लाख तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश राजस्व बाँडफाँडबाट १ करोड २८ लाख ४ हजार, घरजग्गा रजिष्ट्रेशन मालपोतबाट १ करोड ५० लाख, आन्तरिक स्रोतबाट ९ करोड ३५ लाख ५३ हजार तथा बैंक मौज्दातबाट १ करोड रुपैयाँ गरी कुल ७७ करोड ३१ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
खर्चतर्फ गाउँपालिकाको चालु खर्चका लागि १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास तथा गौरवका आयोजनाका लागि ३ करोड ७८ लाख, विशेष अनुदान कार्यक्रमका लागि २ करोड ७० लाख तथा संघीय समपूरक आयोजनाका लागि ३ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ।
कृषि क्षेत्रका लागि ९३ लाख, पशु विकासका लागि ४८ लाख, शिक्षा क्षेत्रका लागि २९ करोड ३८ लाख, महिला, बालबालिका तथा समाजकल्याणतर्फ ३२ लाख, स्वास्थ्यतर्फ ४ करोड ५४ लाख ८० हजार, आयुर्वेदतर्फ ११ लाख, पञ्जीकरणतर्फ ५ लाख तथा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि ३८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
भौतिक पूर्वाधार विकासतर्फ विगत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका बहुवर्षीय आयोजनाहरूको दायित्व भुक्तानीका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। खानेपानी तथा फोहोर व्यवस्थापनका लागि १५ लाख, सहकारी क्षेत्रका लागि ५ लाख, लघु उद्यम विकासका लागि ३१ लाख ४७ हजार तथा न्यायिक व्यवस्थापन तथा मेलमिलाप कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ।
सडक तथा पुल निर्माणका लागि ७० लाख, तराई–मधेस समृद्धि तथा सडक बोर्ड समपूरक कार्यक्रमका लागि ४५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि ३० लाख, विपद् व्यवस्थापनका लागि १५ लाख २० हजार, प्रदेश सशर्त कार्यक्रमका लागि ९० लाख, प्रदेश विशेष कार्यक्रमका लागि २० लाख तथा प्रदेश समपूरक कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
वडागत बजेटअन्तर्गत वडा नं. १ देखि ९ सम्मका सबै वडालाई आन्तरिक व्यवस्थापन तथा स्थानीय आवश्यकता अनुसार खर्च गर्न मिल्ने गरी ३०/३० लाख रुपैयाँको सिलिङ प्रदान गरिएको छ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा कुल ९६ करोड २५ लाख ४३ हजार ९ सय ४५ रुपैयाँ बजेट विनियोजन भएकोमा आर्थिक वर्षको अन्त्यसम्म ४७ करोड ४ लाख ८५ हजार ४ सय ७५ रुपैयाँ ६२ पैसा खर्च भएको छ, जुन कुल बजेटको ४८.८७ प्रतिशत हो। चालुतर्फ ६२.२१ प्रतिशत तथा पुँजीगततर्फ ३४.६९ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिएको छ।
बजेटमाथिको छलफलमा गाउँसभा सदस्यहरू रुद्र प्रसाद पौडेल, डिलादेव गिरी, चन्द्रकला विक, ध्रुवी थारु, तेजनाथ पौडेल, डिल्ली गौतम र शुक्रराज सापकोटालगायतले आ–आफ्ना धारणा राखेका थिए।
गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणमा सहयोग गर्ने नेपाल सरकार, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, जनप्रतिनिधि, राजनीतिक दल, विषयगत कार्यालय, सुरक्षा निकाय, गैरसरकारी संस्था, उद्योगी–व्यवसायी, नागरिक समाज तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै बजेट कार्यान्वयनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको छ।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, सबै वडाका वडाध्यक्ष, गाउँसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, गाउँ प्रहरी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।























