विज्ञापन

अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ दिने व्यवसायिक कृषि तालिम सम्पन्न

Image

बर्दिया, असार ४ — अपाङ्गता सशक्तीकरण तथा सञ्चार केन्द्र (डेक नेपाल) को आयोजना तथा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको समन्वयमा अपाङ्गता समावेशी कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ५ दिने व्यवसायिक कृषि तालिम बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ।

जेठ ३१ गतेदेखि सञ्चालन भएको उक्त तालिममा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका गरी २७ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। डेक नेपालका कार्यक्रम संयोजक सत्यनारायण चौधरीका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई कृषि क्षेत्रमा व्यवसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो।

बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूले कृषि पेशामार्फत आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले डेक नेपालसँग सहकार्य गरी तालिम सञ्चालन गरिएको बताए।

तालिममा धान, गहुँ तथा व्यवसायिक तरकारी खेती, खेती गर्ने आधुनिक विधि, रोग तथा किराको व्यवस्थापनका घरेलु उपाय, उन्नत जातका बीउबिजन छनोट गर्ने तरिका, जैविक तथा कम्पोष्ट मल निर्माण विधि लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक अनिल सुनार र जनक आचार्यले स्लाइड प्रस्तुतीमार्फत सहभागीहरूलाई विस्तृत जानकारी गराएका थिए।

समापन कार्यक्रममा सहभागीमध्ये दृष्टिविहीन अपाङ्गता भएका उमाकान्त भट्टराई तथा शारीरिक अपाङ्गता भएका लोहारी थारू र सम्झना थारूलगायतले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले पाँच दिनको अवधिमा कृषि सम्बन्धी धेरै नयाँ कुरा सिकेको र त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै आयआर्जनतर्फ उन्मुख हुने बताए।

कार्यक्रममा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटा, सचिव दलबहादुर सुनार, कोषाध्यक्ष चिन्तामणि कँडेल लगायतको उपस्थिति रहेको थियो।

डेक नेपालले अपाङ्गता समावेशी कार्यक्रम बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा सन् २०२६ फेब्रुअरीदेखि सञ्चालन गर्दै आएको जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन