बढैयाताल, बर्दिया । अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन उद्देश्यले आयोजित पाँचदिने व्यवसायिक पशुपंक्षी पालन तालिम सम्पन्न भएको छ।
अपाङ्गता सशक्तीकरण तथा सञ्चार केन्द्र ९डेक नेपाल० को आयोजनामा तथा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको समन्वयमा सञ्चालन गरिएको तालिम असार २ गते बढैयाताल गाउँपालिकामा सम्पन्न भएको हो। जेठ २९ गतेदेखि सुरु भएको तालिममा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी भएका थिए।
डेक नेपालका कार्यक्रम संयोजक सत्यनारायण चौधरीले अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूले पशुपंक्षी पालनलाई व्यवसायिक रूपमा अपनाएर आर्थिक सशक्तीकरण हासिल गर्न सकून् भन्ने उद्देश्यले डेक नेपालसँग सहकार्य गरी तालिम आयोजना गरिएको बताए।
तालिममा पशु सेवा शाखा बढैयातालका पशु प्राविधिक प्रेम डाँगीले पशुपंक्षी पालन सम्बन्धी विस्तृत जानकारी प्रदान गरेका थिए। उनले उन्नत जातका पशुपंक्षी छनोट, गोठ निर्माण विधि, रोग नियन्त्रण तथा उपचारका आधारभूत उपाय, सन्तुलित दाना बनाउने तरिका लगायतका विषयमा स्लाइड प्रस्तुतीमार्फत प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा सहभागीहरू राजु पनेरु र इन्द्रबहादुर थारू लगायतले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै आयआर्जनका गतिविधिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले पाँच दिनको अवधिमा धेरै उपयोगी ज्ञान हासिल गरेको र त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने बताएका थिए।
समापन कार्यक्रममा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटा, सचिव दलबहादुर सुनार, कोषाध्यक्ष चिन्तामणि कँडेल लगायतको उपस्थिति रहेको थियो।
डेक नेपालले बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा सन् २०२६ फेब्रुअरीदेखि अपाङ्गता समावेशी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






















