विज्ञापन

बर्दियामा चुनाव र चाडपर्व लक्षित सर्वदलीय बैठक सम्पन्न

Image

जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा फागुन १३ गते सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखैमा परेको होली तथा रमजान चाडपर्वलाई लक्षित गर्दै शान्तिपूर्ण वातावरण कायम राख्ने विषयमा बैठक केन्द्रित रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित बैठकमा राजनीतिक दलका नेताहरू, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

होली र मुस्लिम समुदायको पवित्र पर्व रमजान एकै समयमा परेकाले सामाजिक सद्भाव कायम राख्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। सरोकारवाला सबै निकायलाई जिम्मेवार र संवेदनशील बन्न आह्वान गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले यसपटकको निर्वाचन विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै अन्य निर्वाचनभन्दा फरक ढंगले तयारी गर्नुपर्ने बताएका छन्। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका छन्। आचारसंहिता उल्लंघन गर्ने कर्मचारी वा शिक्षकलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न सकिने चेतावनी पनि उनले दिएका छन्।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। निर्वाचनको पूर्वसन्ध्यामा होली र रमजान परेकोले चाडपर्व मनाउँदा आचारसंहिता उल्लंघन नगर्न उनले आग्रह गरे।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सरोज पौडेलले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे। उनले निर्वाचन अवधिमा ७२ घण्टा भारतीय सीमा क्षेत्र बन्द रहने जानकारी दिँदै अत्यावश्यक आवतजावतका लागि सुरक्षा निकायसँग समन्वय गर्न सकिने बताएका छन्।

चुनाव र चाडपर्व एकैसाथ परेको संवेदनशील समयमा बर्दियामा साझा समन्वय र सहकार्यको सन्देश दिन बैठक फलदायी भएको सहभागीहरूको भनाइ छ।

विज्ञापन
विज्ञापन
विज्ञापन