टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ७ सत्तीमा जैविक विविधता संरक्षणका लागि पालिकास्तरीय परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा सञ्चालनमा रहेको ‘जिविकोपार्जन र जैविक विविधता संरक्षणका लागि समुदाय सशक्तीकरण ९भ्ऋइीब्द्य०’ परियोजना अन्तर्गत उक्त बैठक सम्पन्न भएको हो।
बैठक टि.न.पा. वन, वातावरण तथा विपद् शाखा समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा तथा वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा Ecolab परियोजना अन्तर्गत वडा नं ७ मा सञ्चालन भइरहेका गतिविधिहरूको विस्तृत समीक्षा तथा अनुभव साटासाट गरिएको थियो। परियोजना अन्तर्गत चयन गरिएका च्याम्पियनहरूले समुदायस्तरमा शीतलहर सम्बन्धी जनचेतना अभिवृद्धि, नदी तथा टोल सरसफाइ जस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिरहेको जानकारी गराइएको छ।
त्यसैगरी, जिविकोपार्जन कार्यक्रम अन्तर्गत छनोट भएका लाभग्राहीहरूले तालिम प्राप्त गरेपछि खोर निर्माण, टनेल खेती तथा अन्य आयआर्जनमूलक गतिविधि सञ्चालन गरिरहेको बताइएको छ। यी क्रियाकलापहरूले समुदायको आर्थिक सशक्तीकरणसँगै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको थियो।
पालिकास्तरीय परियोजना व्यवस्थापन समितिको छलफल कार्यक्रममा परियोजनामार्फत समुदायमा भएका उपलब्धि, चुनौती र आगामी कार्ययोजनाका विषयमा गहिरो छलफल गरिएको थियो।
कार्यक्रममा अतिथिका रूपमा टि.न.पा. विपद् शाखा फोकल व्यक्ति निर्मला चौधरी, पशु शाखा प्रमुख दिपक बोहरा, कृषि शाखाबाट अनिता चौधरी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति भिम बहादुर महर, सदस्यहरू टोपबहादुर केसी र तारा साउद, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाकी सभापति धनसरी कुमारी कोइराला, वडा सचिव कमला पोख्रेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रस्तुतीकरण नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टले गर्नुभएको थियो भने ब्रिटिश रेडक्रस BRC का परियोजना अधिकृत लौटन चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।























