विज्ञापन

चार ऐन पारित गर्दै बढैयाताल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

Image

बढैयाताल | बढैयाताल गाउँपालिकाको १८औँ गाउँसभा तथा हिउँदे अधिवेशन विभिन्न ऐन, नियमावली र प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ। यही पौष ८ गते मंगलबार सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ का संशोधित बजेट तथा कार्यक्रम स्वीकृत गर्नुका साथै ऐन तथा नियमावलीको संशोधन, निर्माण र कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन गरेको हो।

गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्तावहरू गाउँसभाको बहुमतले पारित भएका छन्। सो अवसरमा अध्यक्ष त्रिपाठीले चालु आर्थिक वर्षमा निर्माण गरिएका तीन वटा ऐन— बढैयाताल गाउँपालिका पुनःस्थापना केन्द्र तथा सेवा कोष ऐन २०८२, जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन २०८२ र पर्यटन प्रवर्द्धन ऐन २०८२—गाउँसभाबाट बहुमतले पारित भएको जानकारी दिनुभयो।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दै चालु आवको मंसिर महिनासम्म गत वर्षका १४ र यस वर्ष दर्ता भएका २३ गरी जम्मा ३७ वटा विवाद दर्ता भएकोमा २४ वटा फर्स्यौट भइसकेको र १३ वटा फर्स्यौट हुन बाँकी रहेको जानकारी गराउनुभयो। साथै हालसम्म गाउँपालिकाले ७० वटा कार्यविधि र ३५ वटा कानुन निर्माण गरिसकेको जानकारी पनि गाउँसभामा दिइयो।

गाउँसभामा आठ जना सभासदहरूले आ–आफ्नो धारणा राख्दै गाउँपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उठाइएका प्रश्नहरूको उत्तर गाउँपालिका अध्यक्ष त्रिपाठीले क्रमशः दिँदै आएका सुझाव र गुनासाहरू आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सभासदहरूबाट आएका सुझावले बजेट, कार्यक्रम, विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै स्थानीय तहलाई थप उत्तरदायी र जवाफदेही बनाइने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी उपाध्यक्ष अधिकारीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। गाउँसभामा रुद्र प्रसाद पौडेल, तुलाराम चौधरी, चन्द्रकला विक, डिल्ली गौतम, डिलादेव गिरी, ध्रुवी थारू र वीरबहादुर चौधरीले आफ्नो भनाइ राख्नुभएको थियो।

गाउँसभामा गाउँसभा सदस्यहरू, जनप्रतिनिधि, कार्यकारी अधिकृत अर्जुन थारू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन