राजापुर | राजापुर नगरपालिकामा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरण तथा समुदायको विपद् उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यका साथ समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालनमा रहेको छ। उक्त कार्यक्रम जेड ज्युरिक फाउण्डेशन र स्विस रि फाउण्डेशनको सह–लगानीमा प्राक्टिकल एक्शन नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूहको सहजीकरणमा राजापुर नगरपालिकाको आयोजनामा कार्यान्वयन भइरहेको हो।

राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीको नेतृत्वमा गएको अनुगमनमा योजना शाखा प्रमुख रमेश पोख्रेल, प्रशासा शाखाप्रमुख आनन्द जैसी, विपद फोकल पर्सन खुशीराम चौधरी, पत्रकारहरु लगायको उपस्थिती थियो । कार्यक्रम अन्तर्गत राजापुर नगरपालिका वडा नं १ का टिहुनी, चनौरा, मुर्गहवा र प्रेमनगर, वडा नं ३ का नगांपुर, तिघ्रा, चख्खापुर र टेडिया तथा वडा नं। ४ को संघर्षनगर गरी जम्मा ९ वटा उच्च जोखिमयुक्त समुदायमा सञ्चालन गरिएका गतिविधिहरूको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा परियोजनामार्फत सम्पन्न भौतिक संरचना, पूर्वतयारीका उपकरण तथा समुदायस्तरमा भएका क्रियाकलापहरूको अवस्था अवलोकन गरिएको थियो।

अनुगमनका क्रममा वडा नं १ को टिहुनी र वडा नं ३ को नगांपुरमा निर्माण गरिएको सुरक्षित आश्रय भवनको मर्मत–सम्भार कार्य गरिएको पाइएको छ। त्यस्तै, वडा नं ३ को टेडिया र वडा नं १ को चनौरामा विपद्को समयमा सुरक्षित खानेपानी सुनिश्चित गर्न सुरक्षित उच्च धारा निर्माण गरिएको छ। साथै, वडा नं ४ को संघर्षनगर, वडा नं ३ को चख्खापुर तथा दौलतपुरमा जडान गरिएका स्वचालित बहुउद्देश्यीय साइरनको कार्यक्षमता र प्रभावकारिताको समेत अवलोकन गरिएको थियो।

मनसुनजन्य बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको यस परियोजनाले समुदायको विपद् सामना गर्ने क्षमता बढाउने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरणका गतिविधिमा समुदायलाई सक्रिय र सक्षम बनाउने मुख्य उद्देश्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत समुदायस्तरमा सचेतना अभिवृद्धि, स्थानीय संरचना सुदृढीकरण तथा विपद्को समयमा हुने सम्भावित क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्। राजापुर नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने तयारी रहेको समेत जनाएको छ।






















