बर्दिया, राजापुर । गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले मुलुकको आर्थिक समृद्धि र रोजगारी वृद्धिलाई लक्षित गर्दै बर्दियाको राजापुरमा किसान केन्द्रित भेला आयोजना गरेको छ।
पार्टीका अध्यक्ष दिनेश प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा किसानहरूको उत्पादन बिक्री गर्दा उनीहरूले न्यायोचित मूल्य पाउनुपर्नेमा जोड दिइयो। कार्यक्रममा सहभागी वक्ताहरूले कृषि क्षेत्रको विकास बिना समग्र आर्थिक समृद्धि सम्भव नभएको बताएका थिए।

भेलामा पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र बहादुर बस्नेतले गेरुवा–राजापुर क्षेत्रका किसानहरूलाई आपसमा जमिन एकीकृत गरी धान मिल सञ्चालन गर्न सुझाव दिनुभयो। यसले उत्पादनको बजारीकरण सहज हुने, लागत घट्ने र किसानको आम्दानी बढ्ने उहाँको भनाइ थियो।
कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी किसान लक्ष्मि चौधरीले किसानको हकहितका विषयमा राजापुर अहिले सम्म आउने नेताहरूले आश्वासन मात्रै दिने गरेको र गतिशील लोकतान्त्रिक पार्टीले ल्याएको एजेन्डा बास्तबिकतामा परिणत हुन सके किसानहरूलाई निकै राहत हुने भन्दै स्वागत योग्य कार्य कार्यन्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा युबा अभियन्ता सत्यनारायण थारुले किसानको हितमा आएको अबसर कसैले पनि छुट्टाउन नहुने भन्दै अबसरको सहि सदुपयोग गर्न सके भौराटप्पा बासीको मुहार परिवर्तन हुने धारणा राख्नुभयो । १० औं बिगाह जमीन भएपनी यहाँका किसानले बैंकमा ऋण लिन जादा नपाउने दुखेसो गर्दै अभियन्ता थारुले किसान एकताको खाँचो औल्याउँनु भयो ।

गतिशील लोकतान्त्रिक पार्टीले आगामी दिनमा पनि किसानको हकहित र कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गर्ने जनाएको छ।























