विज्ञापन

सिकाइ क्षति न्यूनीकरण गर्न ‘REAL Plan’ राजापुरमा सशक्त रूपमा सुरू

Image

राजापुर — कोभिड–१९ का कारण रोकिएको शैक्षिक यात्रा अब पुनः ट्र्याकमा फर्किन थालेको छ, र त्यसलाई अझै मजबुत बनाउने उद्देश्यसहित राजापुर नगरपालिकाले ‘सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना  लाई यस वर्षदेखि प्रभावकारी रूपमा लागू गर्ने तयारीलाई तीव्र बनाएको छ। योजना कसरी अझै प्रायोगिक, परिणाममुखी र विद्यार्थीमैत्री बनाउने भनेर नगरका विद्यालय प्रधानाध्यापकहरू बीच विशेष छलफल सम्पन्न गरिएको हो।

उक्त छलफलमा सहभागी शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्राविधिक सहायक राजकुमार खड्काका अनुसार, विसं २०७६ पछि कोभिड–१९ सहित महामारी, प्रकोप र अन्य संकटका कारण नियमित पठनपाठन लामो समय अवरुद्ध भयो।
यसले विद्यार्थीको सिकाइ, व्यवहारिक क्षमता, आधारभूत सीप र कक्षा–अनुसारको उपलब्धिमा गम्भीर असर गरेको उनले बताए।
उनका अनुसार,
“सिकाइ क्षति कहाँ–कति भयो भन्ने कुरा तथ्यमा आधारित भएर पत्ता लगाई, त्यसलाई तत्काल पूर्ति गर्ने र विद्यार्थीलाई अपेक्षित उपलब्धिमा पुर्याउने उद्देश्यले REAL PLAN लागू गरिएको हो।”

REAL PLAN अन्तर्गत विद्यालयहरूमा सिकाइ क्षति मापन, कक्षा–कक्षामा द्रुत सिकाइ मोडेल अपनाउने, कमजोर सिकाइ भएका विद्यार्थीका लागि विशेष सघन सत्र सञ्चालन, अभिभावक संलग्नता बढाउने र शिक्षकलाई आवश्यक तालिम तथा उपकरण उपलब्ध गराउनेजस्ता गतिविधिहरू अघि सारिने राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले बताउनु भयो ।

छलफलमा सहभागी प्रधानाध्यापकहरूले आफ्नो विद्यालयमा देखिएका वास्तविक चुनौतीहरू, विद्यार्थीको सिकाइ ग्याप, अभिभावकको सहभागिता, सिकाइ वातावरण, मनोसामाजिक प्रभाव र स्रोतको अभावका विषयमा खुलेर धारणा राखेका थिए। धेरै शिक्षकहरूले महामारीपछि विद्यार्थीहरूमा पढाइप्रतिको निरन्तरता घटेको, आधारभूत विषयगत समझमा कमजोरी देखिएको र कक्षामा सक्रिय सहभागिता कम भएको अनुभव सुनाए।

कार्यक्रम प्लान इन्टरनेशनलको आर्थिक सहयोग, राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वय तथा राजापुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने छ। नगरपालिकाले यसलाई बहु–हितकारी योजना मान्दै, सबै विद्यालयमा एकरूपता, पारदर्शिता र गुणस्तर वृद्धिका लागि विशेष कार्यदल गठन गर्ने तयारी भइरहेको जनाएको छ।

नगरका शिक्षा प्रतिनिधिहरूका अनुसार, योजना सफल भए राजापुरमा महामारीपछिको सिकाइ अन्तर घट्ने मात्र होइन, समग्र शैक्षिक गुणस्तरमा पनि उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। विद्यार्थीहरूलाई पुनः सिकाइको गति फिर्ता गराउने र उनीहरूको भविष्यलाई मजबुत बनाउने लक्ष्य यस योजनाको केन्द्रमा रहेको बताइएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन