विज्ञापन

कृष्णसार बिद्या निकेतनको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Image

बर्दिया, बढैयाताल — बढैयाताल गाउँपालिका–६, मैनापोखरस्थित कृष्णसार बिद्या निकेतनले आफ्नो १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक, शैक्षिक र मनोरञ्जनात्मक गतिविधिसहित भव्य रूपमा मनाएको छ। शुक्रबार विद्यालय परिसरमै आयोजित समारोहमा विद्यार्थी, अभिभावक, सरोकारवाला तथा स्थानीय सरोकारधारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा मार्चपास, पुरस्कार तथा छात्रवृत्ति वितरण, पीटी ड्रिल, फर्मेसन, साथै चित्रकला प्रदर्शनी, नाटक, नृत्य र गीतकला प्रस्तुति जस्ता आकर्षक प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूले विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यालयका प्रधानाध्यापक नगेन्द्र भण्डारीका अनुसार, “विद्यार्थीहरूको सहभागिताले नै विद्यालयको ऊर्जा झल्किन्छ,” भन्दै उनीहरूले अभिभावकहरूको साथ र विश्वासप्रति कृतज्ञता व्यक्त गरे।

मुख्य अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले विद्यालयको निरन्तर उपलब्धिको प्रशंसा गर्दै, “संस्थागत विद्यालयहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्। गाउँपालिकाको दृष्टि समुदायिक र संस्थागत दुवै विद्यालयप्रति समान छ,” भन्दै विद्यालयको प्रगति यात्रा अझ बलियो बन्ने विश्वास व्यक्त गरे।

विद्यालयले २०८१ सालको परीक्षामा उत्कृष्ट अंक ल्याएका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सम्मान गरेको थियो। त्यस्तै, एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याएका १६ जना विद्यार्थीलाई दोसल्ला ओढाई सम्मान प्रदान गरियो। साथै, २०७९ को एसईई ब्याचका विद्यार्थी मोहन बहादुर क्षेत्रीले एमबीबीएस पूर्ण छात्रवृत्ति हात पार्न सफल भएको अवसरमा विद्यालयले विशेष सम्मान गरेको थियो।

उत्कृष्ट पहिचान बनाउँदै आएको विद्यालयले उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरेको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक नगेन्द्र भण्डारीको सभापतित्वमा सञ्चालन गरिएको थियो।

समारोहमा प्रमुख अतिथि अध्यक्ष हिमालय त्रिपाठीसहित शिक्षा शाखा प्रमुख बिश्वराज ढकाल, प्याब्सन बर्दियाका उपाध्यक्ष जितबहादुर रोकाया, विभिन्न वडाका अध्यक्षहरू, इलाका प्रहरी कार्यालयका प्रमुख, नागरिक समाज, क्याम्पस प्रतिनिधि, विद्यालय सञ्चालक, अभिभावक, समाजसेवी, पत्रकार तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन