दाङ देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकार लक्षित निःशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले “सरकार आधारभूत स्वास्थ्य सेवा बलियो बनाउन, प्रर्वद्धनात्मक उपचारलाई विस्तार गर्न र दुर्गम क्षेत्रमा चिकित्सकको पहुँच सुनिश्चित गर्न निरन्तर कार्यरत छ” भन्ने कुरा स्पष्ट पारे।
मन्त्री सारूले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा विकसित गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै पत्रकारिताले स्वास्थ्य क्षेत्रमा सुधारका लागि ठूलो योगदान पुर्याउने धारणा राखे।
उनका अनुसार तथ्यमा आधारित समाचार र सन्तुलित सूचना प्रवाहले जनस्वास्थ्यको हितमा महत्वपूर्ण प्रभाव पार्छ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा आयोजित शिविरमा ३२ जना पत्रकारले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए।
तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्रीका अनुसार धेरैजसो पत्रकारमा आँखा कमजोर रहेको पाइएकाले चश्मा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिइयो।
उनले आँखालाई स्वस्थ राख्न सन्तुलित खानपान, हरियो सागपात र नियमित आँखा जाँच अत्यन्त आवश्यक भएको उल्लेख गरे।
स्वास्थ्य परीक्षण आध्या मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी सुदन घिमिरेले गरेका थिए भने आँखा परीक्षण बिमल बुढा क्षेत्री र नेत्र सहायक मिना जिएमले सञ्चालन गरे।
शिविरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती चेम्बर अफ कमर्शका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार दशरथ घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको थियो। मञ्चका प्रमुख संरक्षक महेश रिजालले धन्यवाद मन्तव्य राखे। सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरे।






















