विज्ञापन

बढैयाताल–२ सितापुरका जनताको धार्मिक एकता: देउसी–भैलोको आम्दानी मन्दिरका लागि

Image

बढैयाताल/ बढैयाताल गाउँपालिका वडा नं। २ सितापुरका स्थानीयहरूले यस वर्षको तिहारमा खेलिएको देउसी–भैलोबाट संकलित रकम नवदुर्गा भगवती मन्दिर निर्माणमा खर्च गर्ने घोषणा गरेका छन्। कात्तिक ९ गते सम्पन्न आम्दानी–खर्च सार्वजनिक कार्यक्रममा यो घोषणा गरिएको हो।

समाजसेवी ज्ञान प्रसाद बगालेको नेतृत्वमा खेलिएको देउसी–भैलोबाट जम्मा रु २ लाख ४० हजार ६ सय ११ रुपैयाँ संकलन भएको र खर्च कटाई रु २ लाख २० हजार ७ सय ११ रुपैयाँ बाँकी रहेको जनाइएको छ। उक्त रकम सितापुरस्थित नवदुर्गा भगवती मन्दिर निर्माण कार्यमा खर्च गर्ने निर्णय गरिएको बगालेले जानकारी दिए।

बढैयाताल–२ को अम्मर ज्योति माध्यमिक विद्यालय नजिक रहेको यो प्राचीन मन्दिर सन् २०२९ सालमा स्थापना भएको हो। समयसँगै मन्दिर जीर्ण बनेपछि सन् २०८१ सालमा धार्मिक महायज्ञ गरी करिब रु २४ लाख बचत गरिएको थियो। सो रकमबाट हाल करिब रु ४५ लाख लागतको चारतले पगोडा शैलीको नयाँ मन्दिर निर्माण कार्य अगाडि बढाइएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष डिलादेव गिरीले स्थानीय युवाहरूले देउसी–भैलोबाट उठाएको रकम धार्मिक कार्यमा खर्च गर्न लागेको कदमलाई “प्रेरणादायी र सराहनीय” बताए। उनले वडा कार्यालयबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आर्थिक पारदर्शिता र सामूहिक सहभागिता नै सफलताको आधार हुने बताएका थिए।

सो कार्यक्रममा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष पार्वती बुढाको सभापतित्व रहेको थियो। कार्यक्रममा वडा सदस्य रामसिंह ठकुरी, समाजसेवी दुर्गादत्त शास्त्री, नलप्रसाद घिमिरे, रामप्रसाद आचार्य, अर्जुन गुरुङ, प्रेमप्रसाद पौडेल, नारायणप्रसाद पौडेल, तारा काफ्ले, संगिता गौतम, युवा कमान्डर मानबहादुर धर्ति लगायत स्थानीय महिला–पुरुषहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन