विज्ञापन

श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि अन्तिम चरणको छलफल कार्यक्रम सम्पन्न

Image

बढैयाताल / बर्दियाको बढैयाताल गाउँपालिकामा श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि तयार गरिएको मस्यौदा माथि अन्तिम चरणको छलफल तथा कार्यशाला सम्पन्न भएको छ।

कार्यक्रम बढैयाताल गाउँपालिकाको समन्वय तथा एक्सन एड र कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमको औचित्य तथा पृष्ठभूमि कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले प्रस्तुत गरेका थिए।

कार्यशालामा श्रमिकहरूको हकहित र अधिकार सुनिश्चित गर्न पालिकालाई जिम्मेवार बनाउने तथा कानुनी प्रक्रिया सहज बनाउनका उपायहरूबारे छलफल भएको थियो। कार्यक्रममा नेपालमा श्रम कानुनको इतिहास, श्रम ऐन २०४७ (संशोधित २०७५) का प्रावधानहरू, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रोजगारी तथा श्रमिकसम्बन्धी व्यवस्था, साथै श्रम डेस्क निर्देशिकाको मस्यौदाबारे रोजगारी शाखा प्रमुख भरत विकले प्राविधिक सहजीकरण गरेका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, योजना शाखा प्रमुख उसमान साई, सूचना प्रविधि शाखा प्रमुख कमल खड्का, ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, नागरिक सरोकार मञ्चका पदाधिकारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

सो अवसरमा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी तथा कार्यपालिका सदस्यहरूले श्रम डेस्क निर्देशिकाको मस्यौदा कार्यपालिकामा छलफल गरी पारित गर्ने र छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका थिए।

हालसम्म कार्यविधि नहुँदा श्रमिक सूचीकरण, श्रमिक परिचयपत्र वितरण लगायतका कार्य गर्न कठिनाई भएको र कार्यविधि पारित भएपछि यी काम सहज हुने सरोकारवालाहरूले बताएका थिए।

कार्यक्रम उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन