बर्दिया – गुलरिया नगरपालिका–१२ भैसाही नजिक उखुबारीमा घाँस काट्न गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। स्थानीय जगतरानी थारुको शव शनिबार बिहान उखुबारीमा फेला परेको हो।
घटनास्थलमै शव फेला परेको अवस्थामा मृतकको टाउको शरिरदेखि छुट्टिएको थियो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ। मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार भैसाही गाउँ आसपासमा तीन–चार दिनअघि देखिनै चितुवा देखिएको थियो। यसअघि पनि सोही चितुवाले वंगुरका पाठा आक्रमण गरेको बताइएको छ। भैसाही छेउमै सामुदायिक वन रहेकोले वन्यजन्तु आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ।
बर्दियामा पछिल्लो समय वन्यजन्तुका आक्रमण बढ्दै गएको भन्दै स्थानीय त्रासमा बस्न बाध्य भएको बताएका छन्। उनीहरूले वन्यजन्तु संरक्षण गर्ने निकायप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्।
घटनापछि गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव घटनास्थलमै पुगेर पीडित परिवारलाई सान्त्वना दिएका थिए। उनले मानव जीवन जोखिममा पर्ने गरी वन्यजन्तु नियन्त्रणबाहिर रहन नहुने बताएका छन्।























