बर्दिया – राजापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रगति समीक्षामा समष्टिगत प्रगति सन्तुलित रहेको निष्कर्ष निकालेको छ। नगर प्रमुख दिपेश थारु, उप–प्रमुख मनकलाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, नगरका १० वटै वडाध्यक्ष, विषयगत शाखा प्रमुख तथा पदाधिकारीहरूको उपस्थितिमा शुक्रबार नगर कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो।

समीक्षामा चालु आर्थिक वर्षमा सम्पन्न विकास निर्माण, सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रका योजनाहरूको प्रगति मूल्यांकन गरिएको थियो। साथै, बजेट कार्यान्वयनको अवस्था, स्रोत–साधनको प्रभावकारी उपयोग, देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले “स्थानीय सरकारको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन वडास्तरदेखि नगरस्तरसम्मको समन्वय, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ” भन्दै एकीकृत प्रयासको आवश्यकता औंल्याए।
उप–प्रमुख चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका हितमा सञ्चालित कार्यक्रमहरूको निरन्तरता र गुणस्तर वृद्धि गर्न सबै तहको सक्रियता आवश्यक रहेको उल्लेख गरिन्।
सो अवसरमा वडा सचिव तथा विभिन्न शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रगत प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ परिणाममुखी योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।






















