विज्ञापन

स्थानिय सरकारसँग युवाका सवालबारे अन्तरक्रिया कार्यक्रम

Image

बढैयाताल/ “दिगो भविष्यको आधार” भन्ने नारासहित २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा स्थानिय सरकारसँग युवाका सवालबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्रावण २७ गते बढैयाताल गाउँपालिका–८ तिलकाना स्थित भगवती संस्कृत तथा साधारण माविमा सम्पन्न भएको हो।

गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा तथा बाँके युनेस्को क्लब, अवाज संस्था, कमैया महिला जागरण समाज लगायतका संस्थाहरूको सहयोगमा र गोचाली युवा क्लबको समन्वयमा भएको कार्यक्रममा स्थानिय युवा प्रतिनिधिहरूले पालिकाका जिम्मेवार पदाधिकारीसँग प्रत्यक्ष प्रश्न–उत्तर गरेका थिए।

कार्यक्रम शिक्षा शाखा प्रमुख विश्वराज ढकालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, विभिन्न शाखा प्रमुख र वडा अध्यक्षहरू सहभागी थिए। युवातर्फबाट निश्चल परियार, सिद्धार्थ पौडेल, विवेक यादव, स्वस्तिका खड्का, सरिना चौधरी लगायतले शिक्षा, स्वास्थ्य, रोजगारी, बजेट विनियोजन, नीतिनिर्माणमा युवा सहभागिता, विकास निर्माण, मानवीय विकास, लागुऔषध नियन्त्रण, बालविवाह न्यूनिकरण र आर्थिक अवसरका विषयमा सवाल राखेका थिए।

जवाफ दिने क्रममा वडा अध्यक्ष विर बहादुर थारू, राधेश्याम थारू र तेजनाथ पौडेल लगायतले वडा स्तरमा गरिएका पहलबारे जानकारी गराए भने पालिका स्तरका पदाधिकारीहरूले युवामुखी कार्यक्रमका लागि बजेट विनियोजन, निःशुल्क सीपमूलक तालिम, पाँच वर्षे योजना मार्फत रोजगारी सिर्जना, शैक्षिक सुधार कार्यक्रम, दरबन्दी तथा विद्यालय मिलान नीति लगायतका योजनाहरू अघि बढाइएको बताए।

बाँके युनेस्को क्लबका उप–निर्देशक गोबिन्द लामिछानेले पनि बढैयातालमा बालविवाह न्यूनिकरण, वालिका शिक्षा प्रवर्द्धन, लागुऔषध नियन्त्रणका सचेतना कार्यक्रम र शिक्षक अनुशिक्षणजस्ता परियोजना सञ्चालन भइरहेको जानकारी गराए।

कार्यक्रमको सञ्चालन गोचाली युवा क्लबले गरेको थियो भने सहयोग गर्ने संघसंस्था र युवा समूहहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन