विज्ञापन

राजापुरमा ४१३ बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण, बन्धुवा श्रम अन्त्यका लागि साझा पहल

Image

राजापुर/ नेपालमा कृषिमा आधारित बन्धुवा श्रम अन्त्य गर्ने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपाल र राजापुर नगरपालिकाको साझेदारीमा राजापुर नगरपालिकामा अध्ययनरत ४१३ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। परियोजनाले बन्धुवा श्रमिक समुदायका बालबालिकाको शिक्षा पहुँचमा सुधार ल्याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमका अनुसार प्रत्येक बिद्यार्थीलाई करिब दुई हजार पाँच सय रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको हो। सामग्रीहरूमा कापी, कलम, झोला, ज्यामिती बक्स, स्कुल पोशाक, जुत्ता र मोजा समावेश थिए। यस वितरण कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन, उनीहरूको मनोबल उच्च बनाउन र विद्यालयमा निरन्तरता कायम राख्न महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारुले सहभागीता जनाउँदै शैक्षिक सामग्री पाएका सबै बालबालिकालाई अझ बढी लगनशील भएर अध्ययन गर्न प्रेरित गर्नुभयो। उहाँले शिक्षा नै परिवर्तनको मुलचाबी भएकाले यस्तो सहयोगले बालबालिकाको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले समुदायमै रहेका सीमान्तकृत वर्गका बालबालिकालाई प्रोत्साहन गर्दै शैक्षिक अवसर प्रदान गर्नु समाज रुपान्तरणको आधार बन्ने बताउनुभयो। उहाँले पालिकाले शिक्षा क्षेत्रमा थप लगानी र योजनागत सहयोग बढाउँदै लैजाने जानकारी समेत दिनुभयो।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कमैया महिला जागरण समाजका अध्यक्ष कृष्णी थारु बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न यस प्रकारको सहकार्य निरन्तर भइरहने प्रतिबद्धता जनाउनुभयो। उहाँले वितरण गरिएका सामग्रीहरू आवश्यकतालाई ध्यानमा राखी छनौट गरिएको भन्दै प्रभावकारी उपयोगका लागि अभिभावक, शिक्षक र समुदायलाई पनि सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा सरोकारवाला निकाय, विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो खालको सहयोगले विद्यार्थीमा आत्मविश्वास बढाउने, उनीहरूलाई शैक्षिक रुपमा सक्षम बनाउने तथा भविष्यमा श्रम शोषणको चक्र तोड्ने ठोस आधार तयार गर्ने धारणा राखे।

शिक्षा नै परिवर्तनको आधार हो भन्ने दृष्टिकोणलाई आत्मसात गर्दै एक्सन एड नेपाल र कमैया महिला जागरण समाज र राजापुर नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रमले समुदायस्तरमै प्रभाव देखाउन थालेको छ। यस्तो समन्वयात्मक प्रयासले सिप, शिक्षा र अवसरको माध्यमबाट श्रमजन्य शोषण अन्त्य गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरिरहेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन