बढैयाताल / बढैयाताल गाउँपालिका–६ मा अति विपन्न वर्गका ५० परिवारलाई निशुल्क धुवाँरहित चुलो वितरण गरिएको छ। वडा कार्यालयको समन्वयमा भारतको श्रीमा ग्रुप लिमिटेडको सहयोगमा बुधवार वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष शुक्रराज सापकोटाले श्रीमा ग्रुप लिमिटेडले पहिलो चरणमा उपलब्ध गराएको ५० थान चुलो अति विपन्न परिवारहरूलाई छनोट गरी वितरण गरिएको जानकारी दिनुभयो। उहाँले आगामी चरणहरूमा थप परिवारलाई समेट्ने गरी अभियान विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
श्रीमा ग्रुप लिमिटेड भारतका प्रतिनिधि अजय कुमारले यसअघि बाँके जिल्लामा यस्ता चुलो वितरण गरिसकेको र अब बर्दिया जिल्लामा यसको शुरुवात बढैयातालबाट गरिएको जानकारी दिनुभयो। उनले चुलोको फाइदा उल्लेख गर्दै भने, “यो चुलोले धुवाँ नगर्ने, दाउरा कम खपत गर्ने र वातावरणमैत्री प्रविधि भएकाले हामी यसलाई निरन्तरता दिन प्रतिबद्ध छौं। स्थानीय सरकारको सहकार्यमा हरेक घरधुरीमा पुर्याउने योजना छ।”
कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारुले वातावरण संरक्षण र स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्न यस्तो अभियान अत्यन्त सकारात्मक भएको बताउनुभयो। उहाँले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ धेरै संस्थासँग सहकार्यको अपेक्षा राख्नुभयो।
कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत नारायणराज त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द त्रिपाठी, वडा सचिव शिव शर्मा, श्रीमा ग्रुपका अन्य प्रतिनिधि सन्तोष पाण्डे, सञ्चारकर्मी, जनप्रतिनिधि तथा लाभान्वित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शुक्रराज सापकोटाले गर्नुभएको थियो।























