बर्दिया/ बर्दिया जिल्लामा सञ्चालित श्रमिक सञ्जालको समग्र गतिविधिको समीक्षा तथा आगामी कार्ययोजना निर्माण गर्ने उद्देश्यले २ दिने जिल्ला स्तरीय कार्यशाला गोष्ठी गुलरियामा सुरु भएको छ।
गोष्ठीको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरु, श्रमिक संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि, तथा सरोकारवाला निकायका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको छ।
कार्यशालाको पहिलो दिन श्रमिक सञ्जालले विगतमा गरेका गतिविधि, चुनौतिहरु, उपलब्धिहरु र सुधारका सम्भावनाबारे छलफल गरिएको छ। सहभागीहरूले विभिन्न समूहमा छुट्टिएर सञ्जालको प्रभावकारिता, समन्वय अभिवृद्धि, र स्थानीय तहसँगको सहकार्यबारे सुझाव प्रस्तुत गरेको कमैया महिला जागरण समाजका कृष्णी थारुले जानकारी दिनुभयो ।
कार्यशालाको दोस्रो दिन सञ्जालको आगामी कार्ययोजना निर्माण गरिनेछ जसमा श्रमिक अधिकार, सामाजिक सुरक्षा, रोजगारी प्रवर्द्धन, तथा प्रवासी श्रमिकका विषयमा प्राथमिकता दिइनेछ।
कार्यक्रममा जिल्ला स्तरिय श्रमिक सञ्जाल बर्दिया र सम्बन्धित साझेदार संस्थाको सहकार्यमा आयोजना गरिएको हो। आयोजक पक्षका अनुसार कार्यशालाबाट व्यवहारिक र प्रभावकारी कार्ययोजना निर्माण हुने आशा गरिएको छ।
























