विज्ञापन

लघुवित्तको शोषणविरुद्ध कडा आन्दोलनको चेतावनी: वित्तीय पीडित महिलाहरूको सञ्जालको पत्रकार सम्मेलन

Image

गुलरिया/ लघुवित्तीय संस्थाहरूको नाममा भइरहेको आर्थिक शोषण विरुद्ध वित्तीय उत्पीडन विरुद्धको महिला सञ्जाल बर्दियाले कडा आन्दोलनको चेतावनी दिएको छ। आज गुलरिया बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्जालले आफ्ना प्रमुख मागहरू तत्काल सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा सञ्जालका नेतृहरूले लघुवित्त संस्थाहरूले ऋण दिने नाममा महिलाहरूलाई अत्यधिक व्याजदरमा ऋण लगानी गरेर उनीहरूलाई आर्थिक बर्बादीतर्फ धकेलिरहेको आरोप लगाए। ूदेशभर ५८ लाखभन्दा बढी महिला लघुवित्तमा आबद्ध छन्, तर उनीहरू ऋणको बोझले घरबार गुमाउने अवस्थामा पुगेका छन्,सञ्जालको भनाइ छ।वित्तीय शोषणको अन्त्यका लागि बोल्दै सञ्जालले अन्यायपूर्ण र कठोर ऋण प्रणालीको प्रतिकारस्वरूप ऋण नतिर्ने चेतावनीसमेत दिएको छ। लघुवित्त संस्थाले गरेका क्रियाकलापहरूलाई “घर न घाटको बनाउने” प्रक्रिया भनेर उनीहरूले कडा विरोध जनाएका छन्।

संघर्ष अब निर्णायक हुने संकेत
सञ्जालले अगामी आन्दोलन लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको नेतृत्वमा हुने जानकारी दिँदै त्यसलाई देशव्यापी बनाउन सबै आम नेपाली जनतालाई आर्थिक, नैतिक र भौतिक समर्थन गर्न अपिलसमेत गरेको छ। उनीहरूले आन्दोलनलाई कुनै पनि राजनीतिक पार्टीको छायाँमा नराखी सामाजिक न्यायको स्वरूपमा अघि बढाइने स्पष्ट पारे।“हामी नेपालमा आर्थिक शोषणको अन्त्य गर्दै, सामाजिक रुपान्तरणसहितको नयाँ समाज निर्माण गर्न चाहन्छौं,” सम्मेलनमा भनियो। महिलाहरूलाई संगठित गर्दै निर्णायक आन्दोलनमा बदल्न सञ्जालले सम्पूर्ण पीडित महिलालाई साथ दिन आग्रहसमेत गरेको छ।

आजको पत्रकार सम्मेलनमा महिला सञ्जाल नेपालकी केन्द्रीय अध्यक्ष आशा कुमारी सञ्जेल, बर्दिया जिल्ला अध्यक्ष मिना आचार्य, र लघुवित्त पीडित संघर्ष समिति बर्दिया अध्यक्ष खुमलाल थारूसहित विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन