विज्ञापन

राजापुर: कृषि अनुदानले दियो आशा र अवसर, किसानको जीवनशैलीमा परिवर्तन

Image

राजापुर/  राजापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कृषकहरुलाई प्रदान गरिएको कृषि अनुदान कार्यक्रमको प्रभाव मूल्याङ्कनका लागि नगरका विभिन्न वडाहरूमा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ। वडा नं। ३, ५, ६, ७ र १० मा गरिएको अनुगमनका क्रममा अनुदान प्राप्त कृषकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार देखिएको कृषि शाखा प्रमुख तुलाराम चौधरीले जानकारी दिनुभयो।

नगर उपप्रमुख मनकला चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन टोलीमा कृषि शाखा प्रमुख तुलाराम चौधरी, सम्बन्धित वडाका वडाध्यक्षहरू, कृषि प्राविधिकहरू तथा नगरपालिकाका अन्य कर्मचारीहरूको सक्रिय सहभागिता थियो। टोलीले प्रत्यक्ष रुपमा कृषकसँग संवाद गर्दै अनुदानमार्फत उपलब्ध गराइएका सामग्रीहरूको उपयोगिता, उत्पादनमा आएको वृद्धि, आर्थिक अवस्थाको सुधार, तथा व्यवसायिक कृषि अभ्यासमा देखिएको परिवर्तनका विषयमा जानकारी लिएको थियो।

अनुगमनका क्रममा किसानहरूले मल, बीउ, सिचाइ उपकरण, टनेल प्लास्टिक, कृषि यन्त्रजस्ता सामग्रीहरू ५० प्रतिशत अनुदानमा प्राप्त गरेको बताउँदै ती सामग्रीहरूले खेती प्रणालीलाई आधुनिकीकरण गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। सो अवसरमा वडा न. ३ सेन्दुरका किसान सुन्दरलाल थारुले चाफ कटर पाउनाले च्याउ उत्पादनमा लागत घटेको, आम्दानीमा वृद्धि भएको र काम छिटो छरितो हुने गरेको अनुभव साझा गरेका थिए। यसै गरि वडा न. २ जोतपुरका तरकारी खेति गर्दे आएका किसानले टनेल पाउनाले बेमौसमी तरकारी खेति गर्न सहज र आम्दानी बढेको बताए ।

नगर उपप्रमुख मनकला चौधरीले किसानमैत्री नीतिका आधारमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याइने बताउँदै अनुदानका लागि पारदर्शिता, अनुगमन र प्रभाव मूल्यांकन अनिवार्य रूपमा गरिने स्पष्ट पार्नुभयो। “हामी अनुदानलाई केवल वितरणमा सीमित राख्दैनौं, यसको प्रयोग कति प्रभावकारी भयो भन्ने कुरा बुझ्न र सुधार गर्न यो अनुगमन गरिएको हो,” उपप्रमुख चौधरीले भन्नुभयो।

कृषि शाखा प्रमुख तुलाराम चौधरीका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा अझ बढी किसानलाई लक्षित गरी मौसम अनुकूल बीउबिजन, सिँचाइ प्रविधि र व्यवसायिक तालिमका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। साथै, सफल कृषकलाई प्रोत्साहन स्वरूप नमूना कृषक घोषणा गर्ने योजना पनि अघि सारिएको छ।

स्थानीय कृषकका अनुसार अनुदानले साना किसानलाई खेतीपातीमा आत्मनिर्भर बनाएको छ भने युवाहरू पनि कृषिमा आकर्षित हुन थालेका छन्। स्थानीय तहबाट दिइने यस्ता कार्यक्रमले दीर्घकालीन रुपमा ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।

यस प्रकार, राजापुर नगरपालिकाको कृषि अनुदान कार्यक्रम नीतिगत, व्यावसायिक र जनउत्तरदायी अभ्यासको उदाहरण बन्दै गएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन