राजापुर/ राजापुर नगरपालिका वडा नं ८ ले सञ्चालन गरेको बेतबास फर्निचर निर्माण तालिमले स्थानीय बासिन्दाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ। विशेष गरी निम्न आयस्तरका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी प्रदान गरिएको २५ दिने सिपमूलक तालिमपछि धेरै सहभागीहरू स्वरोजगारतर्फ उन्मुख भएका छन् भने कतिपयले समूह बनाएर व्यावसायिक उत्पादन थालेका छन्।
वडा कार्यालयले युवा र महिलाहरूमा सीप विकास गर्नका लागि गत फागुन महिनामा तालिम सञ्चालन गरेको थियो। “हामीले तालिमका लागि विज्ञ प्रशिक्षक ल्याएर सहभागीहरूलाई काठबासबाट कुर्सी, झुला, फूलदानी, टोकरा लगायतका सामग्री बनाउन प्रशिक्षण दियौं,” वडा अध्यक्ष राजकिरण थारुले बताए। तालिममा २१जना सहभागी थिए, जसमा १८ जना महिला र ३जना पुरुष थिए।
तालिम स्थानीय स्रोत र सम्भावनामा आधारित थियो। राजापुर क्षेत्रमा पाइने बाँस र बेत जस्ता कच्चा पदार्थलाई सदुपयोग गर्दै स्थानीयस्तरमै उत्पादनको सम्भावना रहेको आधारमा तालिम तय गरिएको हो।
तालिमपछि अधिकांश सहभागीहरूले घरमै सानो वर्कसप सेटअप गरेका छन्। उनीहरूलाई वडा कार्यालय र नगरपालिका स्तरबाट उपकरण सहयोग समेत गरिएको थियो। “पहिले म घरको काम मात्रै गर्थेँ, अहिले भने महिनामा पाँच–सात हजार रुपैयाँसम्म कमाउने गरेकी छु,” सहभागी सुनिता थारुले भनिन्। उनका बनाएका सामाग्रीहरू कोसेली घर मार्फत बिक्री भई रहेको छ ।
अर्का सहभागी कुमार काफ्ले भन्छन्, “तालिमले मलाई आत्मनिर्भर बनायो। हामीहरु तिन जना मिलेर घरबाटै काम गरी रहेका छौ । अर्डरअनुसार उपहारमा दिने कलमदानी लगायतका समान बनाउँछौं।”
स्थानीय हाटबजार, सामाजिक कार्यक्रमहरूमा यस्ता हस्तकलाका सामग्रीहरू राख्दा बिक्री बढेको उनीहरूको अनुभव छ। यही वर्ष राजापुर नगरपालिकाले लगाएको माघ महोत्सवमा मायाको चिनोको रुपमा आफ्नो उत्पादन बिकेकोमा उनिहरु खुशी छन ।
तालिमले विशेष गरी महिला सहभागितालाई प्राथमिकता दिएको हुँदा महिलाहरूको आर्थिक भूमिकामा परिवर्तन आएको देखिएको छ। “पहिले महिलाहरू घरेलु काममा सीमित थिए, अहिले उनीहरूले पनि आर्थिक योगदान दिन थालेका छन्,” राजापुर नगरपालिका उद्यम बिकास शाखा प्रमुख पुर्ण ओलीले बताउनुभयो ।
राजापुर नगरपालिका वडा नं ८ का जनप्रतिनिधिहरूले यो तालिमलाई नमूना बनाउँदै अन्य वडामा पनि यस्ता सीपमूलक कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएका छन्। “स्थानीय स्रोत र सीपमै आधारित कार्यक्रमहरू नै दिगो रोजगारीको बाटो हो भन्ने हाम्रो विश्वास छ,” वडाध्यक्ष थारुले जोड दिए।
नगरपालिका कार्यालयले यस्ता उत्पादनहरूको लागि स्थायी बजार व्यवस्थापन, ब्रान्डिङ र तालिमपछि अनुगमन प्रणालीलाई अझ सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ।
राजापुर नगरपालिका वडा नं। ८ मा सञ्चालन गरिएको बेतबास फर्निचर निर्माण तालिमले मात्र सीप विकास होइन, स्थानीयको जीवनशैली परिवर्तन गर्न सकिने प्रष्ट उदाहरण बनेको छ। जब सीप, स्रोत र अवसर एकै ठाउँमा जोडिन्छ, तब गाउँमै रोजगारीको सम्भावना पैदा हुन्छ भन्ने सन्देश यो सफलताले दिएको छ।























