
राजापुर/ राजापुर नगरपालिकाको वडा न ३ र ६ लाई खानेपानी सरसफाई स्वच्छता प्रर्वद्धन उन्मुख घरधुरी घोषणा गरिएको छ ।
नेपालको संविधानमा मौलिक हकको धारा ३५को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुचको हक सुनिश्चित गरेको छ । सोही हकको कार्यान्वयन गर्दे राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा पालिकाको वडा न. ३ प्रयागपुर र वडा न. ६ मानपुर टपरामा नगर उपप्रमुख मनकला चौधरीको प्रमुख आतिथ्यमा सरसफाई स्वच्छता प्रर्वद्धन उन्मुख घरधुरी घोषणा गरिएको छ ।
स्वास्थ्य रहनका लागी सरसफाईको महत्व एकदमै धेरै भएको थाहा पाउदा पाउदै पनि समुदायमा लापरवाही भई रहेको उपप्रमुख मनकला चौधरीले बताउनु भयो, “हामी काममा व्यस्त हुन्छौ ।” वहाले थप्नु भयो, “काममा मात्र बढी ध्यान भएकाले सरसफाईमा ध्यान एकदमै कम हुन्छ ।”
प्लान इन्टरनेशनलको आर्थिक सहयोग, राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा र राजापुर नगरपालिकाको आयोजनामा राजापुर नगरपालिकामा बालिका शसक्त परियोजना सञ्चालनमा छ र सोही परियोजना अन्तर्गत राजापुरमा बिभिन्न कार्यक्रमहरु हुने गरेको राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर रेनु चन्दले बताउनु भयो ।
खानेपानी र सफाई एक अर्काका परिपुरक हुन जुन घरमा सरसफाइ हुन्छ त्यस घरमा रोग कम लाग्ने गरेको राजापुर नगरपालिका का प्रवक्ता एंव वडा न. ६का अध्यक्ष असराज न्योपानेले बताउनु भयो । “अझैपनि कतिपय घरमा बाख्रा भैसी आगनमै बाधेको हुन्छ ।” वहाले त्यसो नगर्न आग्रह गर्दे भन्नु भयो, “पशु चौपाया लाई घरदेखी पर बाध्ने र सरसफाईमा ध्यान दिनुको बिकल्प छैन ।”
राजापुर नगरपालिका वडा न. ३ र वडा न. ६ का दुई वटा वडामा गरी १०७ घरलाई पहिचान गरी उनिहरुलाइ सरसफाई सामाग्री, अभिमुखीकरण एंव प्रमाणपत्र प्रदान गरिएको थियो ।






















