
टीकापुर/ टीकापुर नगरपालिका वडा नं। ७ मा स्थित नेपाल मै बेत बाँसले परिचित सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्तालाई आयमुलक कामका साथै आत्मनिर्भर बनाउनेमा जोड दिदै आएको छ ।
सामुदायिक वनले विभिन्न गैरसरकारी संघसंस्थासँगको समन्वयमा होस् वा आफ्नै स्रोतले होस् उपभोक्ताको व्यावसायिक क्षमता विकास आत्म निर्भर बनाउने काम गर्दै आएको हो । खासगरी बेत बाँसका कारण निकै प्रख्यात सामुदायिक वनको प्रमुख स्रोत पनि त्यहीँ बेत हो । वनले बर्सेनि लाखौंको बेत बाँस बिक्रि मात्रै गर्दैन, आफ्ना उपभोक्तालाई बेत बाँसका सामग्री निर्माणका लागि तालिम सञ्चालन गरेर दक्ष रुप आत्मनिर्भर बनाई आयमुलक काम गर्न सक्ने बनाउनमा जोड दिदै आएको छ । भने न्युन आयश्रोत भएका आफ्ना उपभोक्तालाई बाख्रा पालनका लागि समेत लगानि गर्दै आईरहेको समेत बताए ।
अहिले पनि वनले ३३ जनालाई बेत बाँसका फर्निचर बनाउने तालिम दिइरहेको छ । वनले वैशाख ३ गतेबाट बेत बाँसको फर्निचर बनाउने तालिम सञ्चालन गर्दै आएको वनका अध्यक्ष जित राम चौधरी बताउँछन् । जेठ१३ गतेसम्म सञ्चालन हुने उक्त आफ्नै क्षेत्रको स्रोत साधनलाई सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिने विश्वास गरिएको छ ।
उनका अनुसार सीप सिकेको व्यक्ति सहजै व्यवसायसँग जोडिन सक्नेछ भने रोजगारीका लागि पनि अवसर छ । तालिम सकिएपछि सोही क्षेत्रमा रहेको तिलगंगा बेत बाँस फर्निचर उद्योगले जति पनि जनशक्ति खपत गर्न सक्ने बताउँदै आएको छ । “समुदाय वनका उपभोक्तालाई आत्मनिर्भर बनाउनका लागि वनले विभिन्न समयमा यस्ता तालिम सञ्चालन गर्दै आएको छ ।” अध्यक्ष चौधरीले भने, “अहिलेसम्म सयौंले तालिम लिइसकेका छन् भने त्यसमध्ये केही रोजगारीमा पनि जोडिएका छन् ।”
बजारमा बेत बाँसमा फर्निचरहरुको माग निकै छ । माग अनुसार उत्पादन गर्न सकिएको छैन । उसो त बेत बाँसको फर्निचर बनाउने तालिम स्थानीय सरकारले पनि सञ्चालन गर्दै आएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिका भित्रका कार्यालयमा बेत बाँसको फर्निचर प्रयोग गर्ने भने अनुरुप आफ्नो कार्यकक्षमा कार्यान्वयन शुरु गरेका छन भने टीकापुर नगरपालिका वडा नं ७ मा पनि वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले पनि आफ्नो कक्षमा बेत बासका फर्निचर प्रयोगमा ल्याएका छन ।























