
राजापुर/ बर्दियाको राजापुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१र०८२ बैशाख मसान्तसम्म बार्षिक राजस्व लक्ष्यको ९७ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।
राजापुर भन्सार कार्यालय राजापुर बर्दियाका प्रमुख धन बहादुर शाहीले उक्त जानकारी दिँदै भन्नुभयो, यस चालु आर्थिक वर्षमा हाम्रो बार्षिक राजस्व संकलन लक्ष्य २ करोड १४ लाख १६ हजार रूपैयाँ रहको थियो जसमा हामिले २०८२ साल बैशाख मसान्तसम्म २ करोड ८ लाख रूपैयाँ राजस्व संकलन गरिसकेका छौं । यस आधारमा हेर्दा बार्षिक लक्ष्यको ९७ प्रतिशत राजस्व संकलन भईसकेको छ ।
उहाँले राजस्व चुहावट नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम, खुला सिमामा गस्ती, सरोकारवालाहरूसँग अन्तरक्रिया लगायतका कार्यक्रमहरू गरिरहेको समेत जानकारी गराउनुभयो ।
स्थानीयवासीहरूले पनि भन्सार कार्यालयको कामप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ । जिल्लाको गुलरिया नगरपालिका वडा नं। ८ भन्सार टोल निवासी दुर्गेश लोधले सिमित स्रोत साधन हुँदा पनि भन्सार कार्यालयले राम्रो काम गरेको उल्लेख गर्दै सरकारले भन्सारमा थप चेकजाँचका उपकरण दिनुपर्ने धारणा राख्नुभयो ।
यसै गरी गुलरिया नगरपालिका वडा नं। ८ आशापुर बस्ने गणेश बानियाले राजस्व चुहावट नियन्त्रणमा भन्सारले गरेको कार्य प्रशंसनीय भएको बताउनुभयो । उहाँले पनि थप उपकरणको आवश्यकता औंल्याउनुभयो ।























