विज्ञापन

जिल्लाका एक मात्र बाल चिकित्सक डा. शाहको निस्वार्थ सेवा

Image

बर्दिया/ लुम्बिनी प्रदेशका ठूला अस्पताल भन्दा टाढा, सीमित स्रोत साधन सहित सञ्चालित बर्दिया अस्पतालमा डा. विश्वनाथ शाह जिल्लाकै एक मात्र बाल रोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनी विगतका वर्षदेखि निरन्तर बाल उपचारमा प्रति नवजात एक युद्ध लडिरहेका छन् । दिन होस् या रात, हप्तान्त होस् या चाडपर्व बाल रोग वार्डमा उनी सधैं भेटिन्छन् ।

केही समय अगाडि बर्दिया अस्पतालको बाल रोग वार्डमा एउटा सानो शिशु निस्सासिएर रोइरहेको थियो । २९ हप्तामै म्याद नपुगी जन्मिएको उसको शरीर झन्डै १।५ किलो मात्र । शिशुको आँखामा जीवन र मृत्युको संघर्ष झल्किरहेको देखिन्थ्यो । त्यही बेला, सेतो कोटमा देखिए डॉक्टर शाह । उनका लागि त्यो शिशु कुनै बिरामी मात्र नभई, एउटा युद्धको सन्देश बोकेको जीवन बन्यो ।

२०७९ चैत १५ मा २९ हप्तामा जन्मिएको एक नवजात शिशु, डा. शाहका लागि एउटा चुनौती थियो । त्यो शिशुलाई ३७ दिनसम्म एनआईसीयूमा राखी उनले उपचार गरे, अन्ततः जीवनको जित भएको घोषणा गरे । यही सफलताहरूले उनलाई ुबालरक्षक डाक्टरु उपाधिद्वारा हेल्थ अवार्ड–२०८० मा नेपाल सरकारले सम्मानित गर्‍यो ।

डा. शाह नवजात शिशुहरूको उपचारमा विशेष ध्यान दिन्छन् । ‘हामी बिरामी होइन, भविष्य बचाइरहेका हुन्छौं,’ भन्ने उनको भनाइ केवल शब्द होइन, उनको हरेक उपचारमा त्यो भावना देखा पर्छ । उनले जिल्लाको बालमृत्यु न्यूनीकरणमा पुर्‍याएको योगदान उल्लेखनीय छ ।

अहिले अस्पतालको एसएनसीयू वार्डमा रहेका सबै वेडहरू पुरानो भएर काम नलाग्ने भएका छन् । नवजात शिशुहरूको स्वास्थय समस्या दर्शाउँदै प्रदेश सरकारसँग नयाँ वेडको लागि पहल गरिएको डा।शाहले बताए । उनी भन्छन्, जिल्लाको विभिन्न पालिकामा रहेका गरिब दुखी घरपरिवार लगायतलाई सहजै सेवा प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को चैत्र मसान्त सम्म एसएनसीयू वार्डमा राखेर ५ सय ११ नवजात शिशुको उपचार गरिएको जानकारी अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले दिए । उनका अनुसार, कम तौलका, महिना नपुगेर जन्मिएका, जन्मिने बेला निस्सासिएका र नवजात बच्चाहरुमा देखिने जन्डिस लगायतको उपचार गरिएको छ ।

उनको निरन्तर सेवा र प्रतिबद्धताले बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशमा प्रथम र देशभर दोस्रो स्थानमा पुर्‍याउन योगदान पुर्‍याएको छ । अस्पतालका सुचना अधिकारी न्यौपाने भन्छन्, “शाहजस्ता चिकित्सकहरू हाम्रो अस्पतालमा हुनु बर्दियावासीको लागि गर्वको कुरा हो ।”

आज पनि डा. शाहको कहिल्यै नथाकेजस्तो देखिने अनुहारमा मुस्कान छ, तर आँखामा गम्भीरता । किनभने उनी जान्दछन्, अर्को नवजात शिशु कुनै पनि क्षण युद्धको मैदानमा ल्याइनेछ, जीवन र मृत्युको सीमामा । अनि, फेरि एक पटक उनी त्यो युद्धमा होमिनेछन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन