राजापुर / राजापुर भन्सार कार्यालयको आयोजनामा भन्सार सुधार, सचेतना तथा राजस्व चुहावट नियन्त्रणका विविध विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता भन्सार कार्यालय राजापुरका प्रमुख धन बहादुर शाहिले गर्नुभयो ।
जिल्ला समन्वय प्रमुख सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा स्थानीय व्यापारी, उद्योगी, सुरक्षा निकायका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख शाहिले कार्यक्रममा बोल्दै भन्सार प्रणालीमा पारदर्शिता, द्रुत सेवा प्रवाह र प्रविधिको प्रयोगबाट हुने सुधारका प्रयासबारे जानकारी दिनु भयो।
उहाँले अवैध रूपमा वस्तु ओसारपसारबाट हुन सक्ने राजस्व चुहावटको जोखिमलाई कम गर्न सबै सरोकारवालाबीच समन्वय र सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। “भन्सारमा हुने सुधारले न केवल राजस्व बढाउँछ, यो देशको आर्थिक सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले वस्तु परीक्षण, कागजी प्रक्रिया सरलिकरण, सीमामा हुने असहजताका विषयमा सुझाव दिएका थिए। साथै, जनचेतनामूलक कार्यक्रमहरू थप प्रभावकारी बनाउने मागसमेत राखिएको थियो। अन्त्यमा, कार्यक्रमले समन्वयात्मक प्रयासमार्फत भन्सार सुधार र राजस्व चुहावट नियन्त्रणमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्दै समापन गरिएको थियो।























