
ठाकुरबाबा / जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– २ बलातीका ६० वर्षिय बलिराम थारुको हात्ती आक्रमणबाट बुधबार राती मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले थारुलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बुधबार राती ११ बजेर ४५ मिनेटको समयमा घर नजिकको बारीमा आएको जंगली हात्तीलाई धपाउँन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले बताए ।
जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका आफन्त र स्थानीयले पुर्व पश्चिम राजमार्ग विहान साढे ७ बजेदेखि अवरुद्ध पारेका छन् । पुर्वबाट पश्चिम र पश्चिमबाट पुर्व हिँडेका यातायातका साधनलाई वैकल्पिक सडक मार्फत प्रहरीले पठाइरहेको छ ।
राजमार्ग अवरुद्ध भए लगत्तै सदरमुकाम गुलरियाबाट डिएसपी सहितको प्रहरी र बर्दिया निकुञ्जको टोली घटनास्थल पुगिसकेको छ । मृतकका आफन्त, स्थानीय जनप्रतिनिधि, निकुञ्जको टोली र प्रहरीबीच छलफल भइरहेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँ बजारदेखि ४ किलोमिटर पश्चिममा घटना भएको हो ।






















