
राजापुर/ महिलाले मात्र अध्यापन र व्यवस्थापन गर्दै आएका सामुदायिक विद्यालय अब्बल बन्दै गएका छन् । बालबालिका उपस्थित हुने दर, सिकाइ उपलब्धि र गुणस्तरमा अगाडि देखिएका हुन् । राजापुर नगरपालिका ९ स्थित दुर्गा भवानी प्रा.वि.यसको पछिल्लो उदाहरण हो । बालविकासका २ वटासहित ५ कक्षासम्म पढाइहुने यस विद्यालयमा सहयोगी देखी प्रधानाध्यापक गरी ९ जना महिला कर्मचारी छन् । २०५७ सालमा स्थापना भएको विद्यालयमा २०७६ साल सम्म एकजना पुरुष शिक्षक कार्यरत थिए । सोहीवर्ष उनको अन्यत्र सरुवा भयो । त्यसयता पाँच वर्षदेखि यो विद्यालय महिलाले मात्र चलाउँदै आएका छन् । महिलाले जिम्मेवारी सम्हालेसँगै विद्यालयमा विपन्न समुदायका बालबालिकाको संख्या बढ्नुका साथै कक्षामा नियमित उपस्थित हुने गरेका छन् ।
राजापुर नगरपालिकावाट दरबन्दी मिलानमा परेर यसै वर्ष सो विद्यालयमा सरुवाभई आएकी प्रधानाध्यापक पवित्रा अधिकारीले विद्यालयमा आफुलाई नेतृत्व दिएर खटाए पछि सुधारका योजना सहित कार्यभार सम्हालेको बताईन् । विद्यालयमा आएदेखि शिक्षा सुधारका योजना कार्यान्वयनमा लागि परेको उनको भनाई छ । ‘म विद्यालय सुधार लगायतका योजना बनाएर शिक्षिकाहरु सित छलफल चलाउने गर्दछु’ उनले भनिन ‘उँहाहरुबाट थप सुझाव सहित सहयोग प्राप्तहुने गर्दछ, यसले आगामी आयोजना बनाउन सजिलो हुन्छ ।’
आफुले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको धेरै समय नभएपनि जिम्मेवारी पाए कुनै महिला शिक्षक कमजोर छैनन् भन्ने उदाहरण बन्न आफुहरु सफल भएको उनी बताउँछिन । विद्यार्थीलाई सुर्धान पहिला शिक्षक अनुशासित हुनुपर्ने भन्दै विद्यालयमा शिक्षक आचारसहिंता लागु गरिएको छ । सो कार्यमा विद्यालयका सवै कर्मचारीको साथ, समर्थन र सहयोग रहेको छ । विद्यालयकी शिक्षिका …..सुरुवात आफै बाट गर्नु पर्छ भन्ने ठानेर शिक्षक आचारसहिंता लागु गरेर अनुशासित ढगंले अगाडी बढेको बताउँछिन । ‘हामी सबै कर्मचारीहरु समय अगावै विद्यालयमा पुग्छौ । नियमित अभिभावक संग भेटघाट गरी विद्यालय सुधारका योजना बनाएर काम गरीरहेका छौ ।’ उनले थपिन ‘आफु बाटै सुरुवात गरेकाले होला अभिभावकहरुको पनि पुर्ण सहयोग प्राप्त भई रहेको छ ।’
खासगरी थारु समुदायका बालबालिकाको बाहुल्यता रहेको यस विद्यालयमा हाल एक सय बयालिस विद्यार्थी अध्ययनरत छन् । विगतमा विद्यालयमा विद्यार्थी टिकाउन समस्या भएपनि पारिवारिक वातावरण र बालबालिकामैत्री व्यवहारले बिस्तारै अवस्थामा सुधार आएको शिक्षकहरू बताउँछन ।
स्थानिय गंगादेवी थारु विद्यालयमा विद्यार्थीप्रति गरिने व्यवहार र पढाईवाट सन्तुष्ट भएको बताउँछिन् । आफ्नो पाँच कक्षामा पढ्ने छोराको शैक्षिक अवस्था बारेमा नियमित रुपमा विद्यालय गएर बुझ्ने गरेको र पढाई राम्रो भएकोमा खुसी लागेको उनको भनाई छ । ‘सबै शिक्षिकाहरु महिला भएकाले होला मेरो छोराले शिक्षिकाहरुबाट घरको जस्तै माया पाउने गरेको छ, छुट्टी गर्न मान्दैन । उनले थपिन, ‘यहाका शिक्षकहरुले पढाउने र गृहकार्य दिने मात्र होइन बच्चाहरुलाई अतिरिक्त क्रियाकलापहरु गराउछन, जसले गर्दा हाम्रो बाबुले छुट्टी गर्देन ।’ विद्यालय सुर्धान शिक्षकमात्र नभई अभिभावकले समेत चाँसो राख्नुपर्ने उनको धारणा छ ।
टोलका वरघर(मुखिया) गोपाल थारुले पछिल्लो समयमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपनि यहाँ त्यस्तो नभएको बताए । उँहाहरुले मेहनत गर्नु भएको छ, त्यसैले हामीले आफना बच्चा वहाहरुको जिम्मालगाएका छौ ।, उनले थपे ‘पढाइ राम्रो भएर नै विद्यार्थी सख्ंया बढेको छ । गतवर्ष भन्दा बढि बच्चाहरु छन ।’
महिलाहरु मात्र कर्मचारी भएको विद्यालय पुरै पालिकामा आफनो वडामा मात्र भएको बताउदैै वडा नं ९ का अध्यक्ष विष्णु प्रसाद चौधरीले सबै शिक्षिकाहरु विद्यालय राम्रो बनाउन लागेको बताए । सिमित साधन र स्रोतका बाबजुद शिक्षिकाहरुले विद्यालयको अनुहार फेरेको उनी बताउँछन् ।
भारतीय सिमावर्ती क्षेत्रको नजिकै रहेको विद्यालय भएकाले यहाका अधिकांश अभिभावक मजदुरी गर्नका लागी भारत तर्फ जाने गरेका छन् । अभिभावकसंगै स्कुल जाने उमेर समुहका बालबालिका पनि जाँदा कतिपय वालवालिकाको पढाई अवरुद्ध हुने गरेको छ । विद्यालयले आगामी दिनमा त्यस्ता अभिभावक संग छलफल गरेर बच्चाहरुलाई स्कुल आउने वातावरण बनाउने योजना बनाएको जनाएको छ ।
राजापुर नगरपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन जसमध्ये ३ वटा विद्यालयमा महिला प्रधानाध्यापक छन भने एउटा विद्यालयमा महिला मात्र कर्मचारी छन् ।























