चन्द्र बि.क., ठाकुरबाबा / बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ५ अन्तरगत रहेको खोदाउ सामुदायिक वन उपभोक्ता समितिमा वन सम्बर्द्वन प्रणाली कार्यान्वयन भएपछि करिब ४ सय घरधुरी लाभान्वित हुने भएका छन् ।खोदाउ सामुदायिक वनमा दिगो वन व्यवस्थापन तथा सम्बर्द्वन प्रणाली कार्यान्वयन भएको थाहा पाई फिल्डमा पुग्दा उक्त सामुदायिक वन उपभोक्ता समितिको टिमले सो कुरा बताएका हुन् ।

खोदाउ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष विमला देवी कँडेलले डिभिजिन वन कार्यालय बर्दिया गुलरियाको अनुमति लिएर दिगो वन व्यवस्थापन तथा सम्बर्दन प्रणाली अनुसार ७९ वटा उमेर पुगेका साल जातको रुख काटिएको बताउनुभयो ।यसै गरी उक्त वन उपभोक्ता समितिको उपाध्यक्ष साधना थारुले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्राप्तिका आधारमा यस वनमा कटान कार्यक्रम गरिरहेको जानकारी गराउँदै वन सम्बर्दन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अन्तरगत डिभिजन वन कार्यालयबाट स्वीकृती लिएर कटान गरिरहेको बताउनुभयो ।उहाँले आफुहरु सो सामुदायिक वनको नजिक भएकाले पनि रुख काटेर आफ्नो समुहको उपभोक्ता सदस्यहरुको माग बमोजिम आवश्यकता पुर्ति गर्न हरेक वर्ष डिभिजन वन कार्यालयको स्वीकृती लिएर उमेर पुगेका रुखहरुलाई माउ रुखको बचाउ गरी काटन कार्य गरिरहेको जानकारी दिनुभायो ।
उपाध्यक्ष थारु भन्नुहुन्छ,” दिगो वन व्यवस्थापनको उद्देश्य वनको दीर्घकालीन उत्पादन वृद्धि गर्दै वातावरणीय लाभ हासिल गर्नु हो। उमेर पुगेका रुखहरूको घनत्व बढी हुँदा तल्लो भाग खुकुलो हुने र वनको विकासमा बाधा पुग्ने भएकाले माउ रुख सुरक्षित राख्दै सान्दर्भिक रुखहरूको कटान गर्दैछौं। यसले स साना बिरुवाहरू छिटो हुर्किन सहयोग पुर्याउँछ। यसले रोजगारी समेत सिर्जना गर्छ । हाम्रो विपन्न समुदायका उपभोक्ता सदस्यहरु भएकाले समेत यस वनमा वन सम्बद्वन प्रणाली लागु गर्न आवश्यक ठानी कार्य गरिरहेका छौ । यस वर्ष हामिले कटान गरिएको रुख आन्तिरिक खपत र बाह्य वितरण गर्नेछौं । यस बाट भएको आम्दानीले उपभोक्ता समितिका सदस्यहरु लगायतलाई आय–आर्जनका कार्यक्रमहरु दिन्छौ । वन व्यवस्थापनका कार्यहरु गर्छौ । वन्यजन्तुको संरक्षण तथा मानव वन्यजन्तुको सह–अस्तित्व कायम राख्ने गरी कार्यक्रम गरिरहेका हुन्छौ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले उमेर पुगेका रुखहरु तथा नयाँ रुख उत्पादन गर्न नसक्ने रुखहरुलाई कटान गरि नयाँ रुख उत्पादन गर्न सक्ने रुखको संरक्षण र सामुदायिक वनलाई सुदृढीकरण गरी वनलाई हराभरा बनाउने उद्देश्यले खोदाउ सामुदायिक वनले दिगो वन व्यवस्थापन प्रक्रिया अनुसार कार्यगरिरेको बताउनु भयो । उहाँले यस प्रणाली कार्यान्यन गर्ने क्रममा विभिन्न किसिममा समस्या आउनु स्वभाविकै भएपनि यो प्रणाली राम्रो र जायज छ भन्नुभयो ।






















