
राजापुर/ राजापुर नगरपालिकाले कक्षा १ देखि ८ सम्मका कमजोर विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न द्रुत सिकाइ योजना सञ्चालन गर्ने भएको छ ।
कोभिड १९ महामारी तथा अन्य विविध कारणले शिक्षण सिकाईमा भएको क्षतिको परिपुर्ति गर्न पालिकाले प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधा कृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा रियल प्लान योजना अघि सारेको हो ।
२ दिन सम्म चलेको तालिमको सहजीकरण राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले गर्नु भएको थियो । तालिमको समापनमा सहभागीहरुलाई स्वागत गर्दे शसक्त बालिका परियोजनाका सयोंजक मनोज पौडेलले सस्थाले गर्दे आउका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा राजापुर बाहेक बारबर्दिया र ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकामा पनि शसक्त बालिका परियोजना सञ्चालन गरिएको समेत वहाले बताउनु भयो ।
बिभिन्न कारणले क्षति भएको शिक्षण सिकाईलाई परिपुर्ति गर्न द्रुत सिकाई कक्षाले ठुलो सहयोग पुग्ने राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनु भयो ।
६० दिन सञ्चालन गरिने द्रुत कक्षामा १ देखि ८ सम्मका बिद्यार्थीलाई अग्रेजी, गणित र विज्ञान बिषय पढाइने राधाकृष्ण थारु जनसेवा केन्द्रकी सुपरभाइजर रेनु चन्दले बताउनु भयो ।
आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि अभिमुखीकरण कार्यक्रममा राजापुरका सबै विद्यालयबाट ५० जना शिक्षकको सहभागिता थियो ।






















