विज्ञापन

चुरेको स्वर्णमहोत्सवः शिक्षालाई व्यवसायीकरण गर्नुपर्नेमा मुख्यमन्त्री चौधरीको जोड

Image

सौगात श्रेष्ठ, बगनाहा बर्दिया । ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयले स्वर्णमहोत्सव मनाएको छ । विक्रम संवत् २०३० पुस ३ गते निम्न माध्यमिक विद्यालयका रुपमा सञ्चालन भएको ५० वर्ष पुगेको अवसरमा चुरे माध्यमिक विद्यालयले विविध कार्यक्रमसहित स्वर्णमहोत्सव मनाएको हो । ५०औँ वार्षिकोत्सव अवसरमा मंसिर २९ गतेदेखि सुरु भएको स्वर्ण महोत्सवका कार्यक्रम मंगलबार विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

स्वर्णमहोत्सवको अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वर्ण जयन्ती स्तम्भको अनावरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चौधरीले उत्पादन मूलक र रोजगार मूलक शिक्षा आजको आवश्यकता रहेको बताउँदै समाजको भविष्य कस्तो हुन्छ भन्ने कुरा आज दिइरहेको शिक्षाले निर्धारण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा बिनाको समाज कल्पना पनि गर्न सकिँदैन, समाज रूपान्तरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।”

शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रीत भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुने गरेको पनि मुख्यमन्त्री चौधरीले बताउनुभयो । शिक्षा र शिक्षक माथि उठ्ने गरेका प्रश्नको निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडी बढ्नु पर्ने आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । शिक्षाले कुुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने भएकाले शिक्षामा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीले बताउनुभयो । अहिले शिक्षाको नाममा व्यापार बढी भईरहेको बताउँदै शिक्षालाई आवश्यकता अनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा मुख्यमन्त्री चौधरीले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चुरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले विद्यालयलाई यहाँसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । विद्यालयलाई अझै अगाडी बढाउनका लागि सबैको साथ र सबैमा सौहार्दता पूर्ण सम्बन्ध रहि रहनुपर्ने बताउँदै सबैलाई सहकार्य गरेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।

फरक प्रसँगमा बोल्दै ठाकुरबाबा नगर प्रमुख लम्सालले ठाकुरबाबा लुम्बिनी प्रदेशको पुछारको पालिका भए पनि पर्यटकीय सम्भावनाको हिसाबले धेरै सम्भावना भएको पालिका भएको र यस क्षेत्रका स्थानीयहरूको जीवनस्तर उकास्नका लागि आवश्यक आर्थिक नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नुभयो ।

५०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले ‘चुरे स्वर्णोत्सव स्मारिका २०८०’ समेत प्रकाशन गरेको छ । स्मारिकामा विद्यालय स्थापनाको कालखण्डदेखि वर्तमानसम्मका कुराहरू, विद्यालयका शिक्षकहरूको स्मरण, विद्यालयका विषयसँग सम्बन्धित लेख रचनाहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादबले बताउनुभयो । विद्यालयको अभिलेख अनुसार क्षेत्रिय शिक्षा निर्देशनालयबाट चुरे निम्न माध्यमिक विद्यालयको रुपमा २०३० फाल्गुन १२ गते विद्यालयले सञ्चालनको अनुमती पाएको हो ।

विज्ञापन
विज्ञापन
विज्ञापन