विज्ञापन

वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

Image

राजापुर नगरपालिका वडा नं ३ को आयोजनामा सञ्चालन भएको वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिता बैशाख १० गतेदेखि ३० गतेसम्म राजापुर नगरपालिकाको रङ्गशालामा सम्पन्न भएको हो ।

प्रतियोगितामा वडा भित्रका विभिन्न गाउँ तथा टोलका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, ब्याडमिन्टन, बोरा दौड तथा डोरी तान्ने खेल सञ्चालन गरिएको खेल सहजकर्ता भरत चौलागाईंले जानकारी दिनुभयो । खेलकुद कार्यक्रमले युवाहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

विशेषगरी डोरी तान्ने खेल तथा फुटबल प्रतियोगितामा दर्शकहरूको उल्लेख्य उपस्थितिका कारण खेल मैदान निकै उत्साहपूर्ण बनेको थियो । महिला तथा पुरुष दुवै समूहको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडी तथा टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको कार्यवाहक सचिव खेमराज चौधरीले बताउनुभयो । उहाँका अनुसार खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष प्रसादु थारुले खेल क्षेत्रलाई आगामी दिनमा अझ बढी प्राथमिकता दिइने बताउनुभयो । उहाँले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन सहयोग गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको प्रतियोगिताले वडा स्तरमै खेल प्रतिभा पहिचान र विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन