विज्ञापन

स्थानिय तहमा बालबालिका र युवाको सहभागिताबारे पालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न

Image

बढैयाताल | बढैयातालगाउँपालिकामा बालबालिका तथा युवाको सहभागिताको अवस्था, चुनौती र सुधारका उपायबारे केन्द्रित एक दिने पालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बैशाख ११ गते आयोजना गरिएको उक्त कार्यक्रम बाँके युनेस्को क्लब को “शसक्त बालिका परियोजना” र बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय तहमा नीति तथा कार्यक्रम निर्माण, बजेट विनियोजन लगायतका प्रक्रियामा बालबालिका तथा युवाको सहभागिताको वर्तमान अवस्था, बालविवाहको बढ्दो समस्या, बालश्रम, लागूऔषध दुर्व्यसन, विद्यालय छोड्ने प्रवृत्ति तथा बालमैत्री शासन व्यवस्थाका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहजकर्ता कृष्ण पाण्डेले विभिन्न विषयमा सहजीकरण गर्दै स्थानीय तहको भूमिकाबारे स्पष्ट पारेका थिए।

त्यस्तै, बाँके युनेस्को क्लब का उप–निर्देशक गोविन्द लामिछानेले सन् २०२५ मा गरिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन अनुसार बढैयाताल गाउँपालिकामा बालविवाहको दर सन् २०२४ मा २३ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ३०।८५ प्रतिशत पुगेको देखिएको छ। साथै, विद्यालय बाहिर रहेका बालबालिकाको संख्या पनि वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ।

कार्यक्रममा सहभागीहरूले प्रस्तुत तथ्यांकप्रति चिन्ता व्यक्त गर्दै बालविवाह न्यूनीकरण, शिक्षा पहुँच वृद्धि र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न सकिने उपायबारे गम्भीर छलफल गरेका थिए।

कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले यस्ता समस्याको समाधानका लागि एकल प्रयास पर्याप्त नहुने उल्लेख गर्दै सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्। उनले बालविवाह लगायतका समस्यामा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आगामी दिनमा समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, बाँके युनेस्को क्लब का कार्यक्रम अधिकृत विजय शर्मा, फिल्ड सुपरभाइजर रामबहादुर थारू, किशोर–किशोरी तथा बाल क्लबका सदस्यहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

उक्त परियोजना एबिल क्ष्लतभचलबतष्यलब िल्भउब िको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब ले बढैयाताल गाउँपालिका भित्र विगतदेखि नै सञ्चालन गर्दै आएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन