विज्ञापन

सातौं संस्करण अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी–खर्च सार्वजनिक

Image

बर्दिया — बढैयाताल गाउँपालिका–८ स्थित मयुर युवा क्लबको आयोजनामा सम्पन्न सातौं बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी–खर्च सार्वजनिक गरिएको छ।

गएको चैत्र ११ देखि १८ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको सार्वजनिक सुनुवाइ कार्यक्रम वैषाख ९ गते वडा नं. ८ को सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका कोषाध्यक्ष शम्सेर बहादुर मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतियोगितामा विभिन्न स्रोतबाट कुल ५ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिए।

उनका अनुसार बढैयाताल गाउँपालिका, वडा नं. ८ को कार्यालय, अन्य वडा कार्यालय, विभिन्न संघ–संस्था, सामुदायिक वन, विद्यालय तथा दातृ व्यक्तिहरू गरी करिब ५२ वटा सहयोगी निकायबाट उक्त रकम संकलन गरिएको हो। प्रतियोगिता सञ्चालनका क्रममा नगद पुरस्कार लगायत विभिन्न शीर्षकमा कुल ५ लाख १५ हजार ७ सय १७ रुपैयाँ खर्च भएको र ४६ हजार २ सय ८३ रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने संघ–संस्था तथा व्यक्तिहरूको नामावली समेत वाचन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने मयुर युवा क्लबका अध्यक्षसहित सम्पूर्ण सदस्यहरू तथा सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजितराज भण्डारी, वडा सदस्य कृष्णकला सुनार, क्लबका संस्थापक सचिव कृष्ण बहादुर काक्री, सामुदायिक वनका अध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा बर्दियाका आठै पालिकाका टोलीहरूको सहभागिता रहेको थियो भने बारबर्दिया नगरपालिका प्रथम र ठाकुरबाबा नगरपालिका द्वितीय भएका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रम मयुर युवा क्लबका अध्यक्ष ईश्वर बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन