टीकापुर — कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा कामदार अभावका कारण बेत बाँस सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्न कठिन भएको छ। बेत बाँसका लागि प्रख्यात यस वनले हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको उत्पादन गर्दै आए पनि यस वर्ष लक्ष्य भेटाउन चुनौती थपिएको हो।
वनका अनुसार यस वर्ष तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिइएको छ। तर हालसम्म करिब ९०० क्विन्टल मात्र सङ्कलन भएको छ। सामुदायिक वन उपभोक्ता समूहका कार्यालय प्रमुख मीनबहादुर ठकुल्लाका अनुसार आवश्यक मात्रामा कामदार नपाउँदा लक्ष्य पूरा हुन नसक्ने देखिएको छ।
“कामदार पाउन निकै गाह्रो भएको छ, अघिल्लो वर्ष पनि लक्ष्य भेटाउन सकेका थिएनौँ,” उनले भने।
बेत बाँस वनको प्रमुख आम्दानी स्रोत हो। यसबाट वनले बर्सेनि ७० देखि ८० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको रेकर्ड छ। उक्त आम्दानीबाट ज्येष्ठ नागरिकलाई कम्बल वितरण, बालबालिकालाई छात्रवृत्ति, तथा किरिया खर्च सहयोग जस्ता सामाजिक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
हाल वनले काँचो बेत सङ्कलन गरिरहेको छ र स्थानीय कामदारलाई प्रतिकिलो ११ रुपैयाँका दरले ज्याला दिइँदै आएको छ। सङ्कलित बेत सुकाएर उपभोक्तालाई प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध गराइन्छ भने बाह्य बजारमा ९० रुपैयाँसम्म र टेन्डरमार्फत १०५ रुपैयाँसम्म बिक्री हुने गरेको छ।
वन क्षेत्रभित्र १४६ हेक्टरमा बेत बाँस फैलिएको छ, जसमा १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानले क्षति पुगेको छ। वन व्यवस्थापनका लागि क्षेत्रलाई चार भागमा विभाजन गरी पाँच वर्षमा एकपटक मात्र बेत सङ्कलन गर्ने अभ्यास अपनाइएको छ।
बजारमा बेत बाँसको माग उच्च भए पनि उत्पादन लक्ष्य नपुग्दा स्थानीय फर्निचर उद्योगहरू प्रभावित हुने अवस्था देखिएको छ। टीकापुर क्षेत्रमा सञ्चालनमा रहेका दर्जनौँ फर्निचर उद्योगको मुख्य कच्चा पदार्थ यही वनबाट आउने गर्छ।
यता, कर्णाली नदीको कटानले वन क्षेत्र क्रमशः खुम्चिँदै जाँदा टीकापुरको दक्षिण–पूर्वी क्षेत्र थप जोखिममा पर्ने चिन्ता पनि बढ्दै गएको छ।






















