राजापुर | राजापुर नगरपालिका वडा नं ६ ले सामाजिक विकृति तथा समस्याहरू न्युनिकरण गर्ने उद्देश्यले बिगतका वर्षहरूझैँ यस वर्ष पनि बालविवाह, मानसिक समस्या तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। वडाभित्र रहेका सबै १३ वटा टोलमा पुगेर कार्यक्रम आयोजना गरिएको हो, जसले स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
वडाले यसअघि पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको भएता पनि यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी र सहभागितामूलक बनाउने प्रयास गरिएको देखिन्छ। गत वर्ष सडक नाटकमार्फत जनचेतना फैलाइएकोमा यस वर्ष भने टोल–टोलमै पुगेर प्रत्यक्ष अन्तरक्रिया, छलफल तथा सुझाव संकलनलाई प्राथमिकता दिइएको वडाध्यक्ष असरज न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा समस्याको वास्तविक अवस्था बुझ्न र समाधानका उपाय पहिचान गर्न सहज भएको छ।
कार्यक्रमका क्रममा सहभागी स्थानीय बासिन्दाहरूले बालविवाह रोकथाम, मानसिक स्वास्थ्यप्रति जागरुकता वृद्धि तथा लागूऔषध दुर्व्यसन नियन्त्रणका विषयमा आफ्ना धारणा, अनुभव र सुझावहरू खुलेर राखेका थिए। वडा सदस्य बलबिर रानाका अनुसार टोलमै पुगेर सहजीकरण गर्दा स्थानीयबाट अत्यन्तै व्यवहारिक र रचनात्मक सुझावहरू प्राप्त भएका छन्, जसले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, वडा सचिव बन्ध्या चौधरीले बालविवाह, मानसिक समस्या तथा लागूऔषध दुर्व्यसन जस्ता सामाजिक समस्याहरू हाम्रो समाजमा विभिन्न स्वरूपमा निरन्तर देखापरिरहने भएकाले यस्ता कार्यक्रमलाई एकपटकको अभियानमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले जनचेतना अभिवृद्धिसँगै समुदायको सक्रिय सहभागिता बिना यस्ता समस्याहरू पूर्ण रूपमा समाधान गर्न कठिन हुने पनि उल्लेख गर्नुभयो।
स्थानीय तहले समुदायमै पुगेर सञ्चालन गरेको यस्ता अन्तरक्रिया कार्यक्रमहरूले समाजमा सकारात्मक सोच विकास गर्न, युवाहरूलाई गलत बाटोबाट जोगाउन तथा दीर्घकालीन रूपमा सामाजिक सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






















