विज्ञापन

राजापुरमा शिक्षक लक्षित सिकाइ आपूरण तथा द्रुत सिकाइ अभिमुखीकरण सम्पन्न

Image

राजापुर| बर्दियाको राजापुर नगरपालिकामा आधारभूत तहको सिकाइ आपूरण तथा द्रुत सिकाइ सहयोग योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ स्तर सुधार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनेतर्फ केन्द्रित रहेको थियो।

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर रेनु चन्दले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले तालिमपश्चात विद्यालयहरूमा कमजोर विद्यार्थीको पहिचान गरी उनीहरूको शैक्षिक स्तर उकास्न ठोस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना प्रभावकारी रूपमा कार्यान्वयन भए विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन आउने बताउनुभयो।

कार्यक्रममा सहभागी शिक्षकहरूले गत वर्ष ‘रियल प्लान’ लागू भएपछिका उपलब्धि, सिकाइ सुधारको अवस्था तथा विद्यालयस्तरमा भएका प्रगतिका विवरणहरू सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए। शिक्षकहरूले सिकाइ आपूरण योजनाले विद्यार्थीको पठनपाठनमा आत्मविश्वास बढाएको, कमजोर विद्यार्थी लक्षित कक्षा सञ्चालन सहज भएको तथा मूल्याङ्कन प्रणालीमा सुधार आएको अनुभव साझा गरेका थिए।

कोभिड–१९ लगायत विभिन्न कारणले विगतमा कक्षागत तथा तहगत रूपमा विद्यार्थीले हासिल गर्नुपर्ने अपेक्षित सिकाइ उपलब्धि नपुगी माथिल्लो कक्षामा पुगेका विद्यार्थीलाई समान सिकाइ स्तरमा ल्याउन द्रुत सिकाइ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा विस्तृत अभिमुखीकरण गरिएको थियो। यस क्रममा विद्यार्थी केन्द्रित शिक्षण विधि, सिकाइ अन्तर पहिचान, समय व्यवस्थापन तथा निरन्तर मूल्याङ्कनका उपायहरूबारे पनि छलफल गरिएको थियो।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी र प्रा.स. राजकुमार खड्काले गर्नुभएको थियो। सहजीकरणका क्रममा उहाँहरूले सिकाइ आपूरण योजना कार्यान्वयनका व्यवहारिक पक्ष, कक्षा–कक्षामा प्रयोग गर्न सकिने रणनीति तथा शिक्षकको भूमिकाबारे स्पष्ट जानकारी दिनुभएको थियो।

कार्यक्रमले राजापुर नगरपालिकाका सामुदायिक विद्यालयहरूमा द्रुत सिकाइ तथा सिकाइ आपूरण योजनालाई अझ प्रभावकारी रूपमा लागू गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन